काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ का कुसुम गुरुङ घरबाट काममा निस्किदा आवश्यक बन्दोबस्तीका सबै सामानसँगै, एउटा बोतल अनिवार्य बोक्नु हुन्छ । त्यो बोतल पानी खानका लागि होइन, कतै पिसाब लागि हाल्यो भने सङ्कलन गरेर घर ल्याउनका लागि हो ।
‘अहिले हामी वनपाखा जाँदा पनि हामीसँग अनिवार्य एउटा बोतल हुन्छ । हामी बाहिर कतै पिसाब गर्दैनौँ ।’ कुसुमले भन्नुभयो, ‘वनपाखा घाँसदाउरा जाँदा पनि पिसाब आइहाल्यो भने त्यही बोतलमा पिसाब गरेर घरमा ल्याएर राख्छौँ । मैंले कागतीको बिरुवामा एकमहिनाको समयमा दुईपटक प्रयोग गरेको छु ।’
गुरुङको घरमा ५ जना सदस्य छन् । ३ जना बालबालिका विद्यालय जान्छन् । हरेकको चिन्ता पिसाब लागि हाल्यो भने कतै खेर जाला कि भन्नेमै हुन्छ । गुरुङ परिवारले प्लास्टिकको ड्रममा दैनिक १० देखि १२ लिटर पिसाब सङ्कलन गर्छ ।
‘पहिला त पिसाबलाई छि ! भनेर फोहोर भनेर मतलबै गर्दैनथ्यौँ । अहिले त्यही पिसाबलाई मैले आफूलाई भन्दा महत्ववमा लिन्छु ।’ उहाँले भन्नुभयो, ‘पिसाब भएपछि युरिया र विषादी प्रयोग गर्न परेन । एक लिटर पिसाबमा ३ देखि १० लिटर पानी मिसाएर प्रयोग गर्दा सिंचाईको पनि काम गर्ने रहेछ ।’
लसुन, आलु, प्याज लगायतमा पानी, मल र विषादीको रूपमा पिसाबलाई प्रयोग गरिरहेको कुसुम गुरुङ बताउनुहुन्छ ।
कुसुमको घरबाट १५ मिनेटको पैदल दुरीमा रहेको माँझगाउँ माध्यमिक विद्यालयले पनि पिसाब सङ्कलन गर्न थालेको ५ वर्ष हुन लाग्यो । एक सय ४३ जना विद्यार्थीबाट साप्ताहिक रूपमा करिब ५ सय लिटरसम्म पिसाब जम्मा हुन्छ ।
प्रधानाध्यापक कमल गुरुङका अनुसार त्यही पिसाबलाई मलको रूपमा प्रयोग गरेर विद्यालयले तरकारी खेती गरिरहेको छ ।
‘विद्यालयमा पिसाब जम्मा गर्न ४ सय लिटर क्षमताका दुई वटा ट्याङ्की छन् । ३० लिटर क्षमताका ५ वटा ड्रममा पनि जम्मा भइरहेको छ ।’ प्रधानाध्यापक गुरुङले भन्नुभयो, ‘पिसाबको व्यावसायिक प्रयोग भने यही वर्षबाट भइरहेको छ । एक कट्ठामा लगाइएको आलुमा मल र विषादीको रूपमा त्यही पिसाब प्रयोग गरिएको छ ।’
एक लिटर पिसाबमा ३ देखि १० लिटरसम्म पानी मिसाएर बिरुवामा प्रयोग गर्दै आउनुभएका अगुवा किसान रावत पिसाब प्रयोग गरेको ठाउँमा चिस्यान पनि बसिरहने अनुभव सुनाउनुहुन्छ ।
पिसाब सङ्कलन र प्रयोगका बारेमा विद्यालयले दुई चरणमा ६० जना किसानलाई तालिम दिइएको छ । किसानहरू पिसाब पैँचो लिनका लागि विद्यालयसम्म आउने गरेका छन् ।
‘विद्यालयमा रोटरी क्लव अफ पाटन र द सेवा नेपालको तर्फबाट दिसापिसाबलाई नैं व्यवस्थित रूपमा सङ्कलन गर्ने गरी नमुना शौचालयसमेत बनेको छ ।’ प्रधानाध्यापक गुरुङले भन्नुभयो ।
कक्षा ६ देखि ८ सम्म पेशा, व्यवसाय र प्रविधि विषय पढाइन्छ । बिरुवाको उमेर र आकारअनुसार मात्रा मिलाएर पिसाबको प्रयोग गर्छन् ।
दुईवटा ट्याङ्कीमा सङ्कलन भएको पिसाबलाई विद्यालयबाट ३ सय मिटरको दुरीमा रहेको बस्तीमा समेत विक्री गर्ने तयारी गरेको छ । पिसाबको महत्व बुझेका कारण किसानहरू पिसाब खरिद गरेर प्रयोगमा इन्छुक भएका कारण नीति बनाएरै पिसाब बिक्री गर्ने र पाइपलाइनमार्फत वितरण गर्ने योजना रहेको प्रधानाध्यापक गुरुङको भनाइ छ ।
कणर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का ज्ञानबहादुर रावतले पनि १० वर्षदेखि पिसाब बैँक सञ्चालन गर्दै आउनु भएको छ ।
गाउँलेबाट दिनमा ५ सय लिटर पिसाब रावतले प्रति लिटरको एक रुपैँयाँका दरले किन्नुहुन्छ । त्यही पिसाबको हिसाव निकाल्दै ७ कट्ठामा तरकारी खेती गर्दा उहाँले रासायनिक मल किन्ने हजारौँ रुपैयाँ जोगाइरहनु भएको छ ।
‘दीर्घकालसम्म राम्रो उत्पादन लिन सकिने पिसाब खेर गइरहेको र मल किन्न हजारौँ रुपैयाँ विदेश पठाइरहेको देख्दा माया लागेर पिसाब बैँक सुरु गरेको थिएँ ।’ रावतले भन्नुभयो, ‘मैले अहिले पनि दिनको ५ सय लिटर पिसाब सङ्कलन गरेर तरकारीमा प्रयोग गर्छु । सुरुमा लिटरको ५ रुपैयाँमा किने पनि अहिले त एक रुपैयाँको दरले मात्रै किन्छु ।’
सरकारले मात्रै झण्डै ११ अर्बको मल किन्ने गरेको छ । विज्ञहरूका अनुसार एक व्यक्तिले एक वर्षमा गरेको पिसाबमा भएको नाइट्रोजन झण्डै ९ किलो यूरिया मल बराबर हुन्छ ।
एक लिटर पिसाबमा ३ देखि १० लिटरसम्म पानी मिसाएर बिरुवामा प्रयोग गर्दै आउनुभएका अगुवा किसान रावत पिसाब प्रयोग गरेको ठाउँमा चिस्यान पनि बसिरहने अनुभव सुनाउनुहुन्छ ।
‘एक पटक पिसाब हालेको ठाउँमा तीन पटकसम्म युरिया प्रयोग गरे बराबरको काम गर्ने रहेछ । उत्पादन पनि बढ्ने रहेछ ।’ उहाँ भन्नुहुन्छ, ‘युरिया मल किन्नका लागि एक केजीको २० रुपैयाँ पर्छ भने पिसाब किनेरै प्रयोग गरे पनि एक रुपैयाँमा पाइयो । घरमै व्यवस्थित रुपमा सङ्कलन र प्रयोग गर्दा किन्न पनि पर्दैन । स्वस्थकर खानासमेत उत्पादन हुँदा त झन् फाइदै फाइदा ।’
कृषि उत्पादन बढाउन अरु मलभन्दा मान्छेको पिसाब राम्रो मानिएको छ । म्याग्दीको मङ्गला गाउँपालिकाले नीतिगत रुपमा नै पिसाब सङ्कलन गरिरहेको छ ।
अघिल्लो वर्ष वडा नम्बर ५ को शिशु कल्याण माध्यमिक विद्यालय र ३० जना किसानलाई पिसाब सङ्कलनको सामग्री र प्रविधि सिकाएको थियो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोका त्यसको नतिजा र प्रतिक्रिया राम्रो आएको अनुभव सुनाउनुहुन्छ ।
‘खेर गइरहेको मानवमुत्र सङ्कलन र प्रयोग गर्न हामीले शिशु कल्याण माध्यमिक विद्यालयमा सामग्री सहयोग गरेका छौँ । द सेवा नेपाल श्रीरेन्द्र पोखरेलले आएर विद्यालय र समुदायमा दुईपटक तालिम दिनुभयो ।’ अध्यक्ष रोकाले भन्नुभयो, ‘विद्यालयमा सङ्कलन भएको पिसाब लगेर समुदायले तरकारी फलफूलमा प्रयोग गरिरहनु भएको छ । अहिले किसानहरूले वनजङ्गल जाँदा पनि बोतल बोकेर जाने र पिसाब सङ्कलन गरेर घर ल्याउने गर्नुभएको छ ।’
यस वर्ष गाउँपालिकाले थप ५ वटा माध्यमिक विद्यालयमार्फत आसपासको समुदायमा पिसाब सङ्कलन तथा प्रयोगको लागि सामग्री र प्रविधि सहयोग गर्ने योजना बनाएको अध्यक्ष सतप्रसाद रोकाको भनाइ छ ।
यसबाट पहिलो कुरा त रासायजिनक मल किन्ने पैसा जोगिन्छ भने बजारमा रासायनिक मल किन्न जाने समयको पनि बचत हुन्छ । त्यो समयलाई अरु उत्पादनशील काममा लगाउन सकिन्छ । प्रदुषण कम हुन्छ, माटोको क्षयिकरण रोकेर उर्वराशक्ति कायम राख्छ ।
एकजना बयस्क व्यक्तिले एक वर्षमा ५ सय लिटरभन्दा बढी पिसाब गर्न सक्छ । त्यति पिसाबले एक रोपनी जग्गामा वर्षभरि गर्ने खेतीका लागि मल, सिंचाइ र विषादीको काम गर्छ ।
५ जनाको परिवारबाट सङ्कलन भएको पिसाबले ५ रोपनी जग्गाका लागि प्रयोग गर्ने रासायनिक मलको खर्च बचत गर्ने मानवमुत्र व्यवस्थापन अभियन्ता श्रीरेन्द्र प्रकाश पोखरेलको दावी छ ।
‘एक जनाले वर्षभरिमा औसतमा ५ सय ५० लिटर पिसाब सङ्कलन गर्न सक्छ । त्यसबाट वार्षिक शतप्रतिशत नाइट्रोजन भएको ४ किलो मल उत्पादन हुन्छ।’ अभियन्ता पोखरेल भन्नुहुन्छ, ‘५ जनाको परिवारले वर्षमा २० किलो शतप्रतिशत नाइट्रोजन भएको मल उत्पादन गर्न सक्छ । पिसाबको प्रयोग गर्दा केकति बचत हुन्छ भन्ने विषयमा म पनि अनुसन्धान गरिरहेको छु ।’
पिसाबमै बोटबिरुवाका लागि आवश्यक नाइट्रोजन, फस्फोरस, पोटास लगायतका शुक्ष्म पोषक तत्व पाइने हुँदा रासायनिक मलको पछि लाग्नु नपर्ने अभियन्ता पोखरेलको भनाइ छ ।
यसबाट पहिलो कुरा त रासायजिनक मल किन्ने पैसा जोगिन्छ भने बजारमा रासायनिक मल किन्न जाने समयको पनि बचत हुन्छ । त्यो समयलाई अरु उत्पादनशील काममा लगाउन सकिन्छ । प्रदुषण कम हुन्छ, माटोको क्षयिकरण रोकेर उर्वराशक्ति कायम राख्छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक १६ अर्बको मल आवश्यक पर्छ । सरकारले मात्रै झण्डै ११ अर्बको मल किन्ने गरेको छ ।
विज्ञहरूका अनुसार एक व्यक्तिले एक वर्षमा गरेको पिसाबमा भएको नाइट्रोजन झण्डै ९ किलो यूरिया मल बराबर हुन्छ ।
देशभरका ३ करोड २ लाख नागरिकले वर्षभरिमा फेर्ने पिसाबलाई हिसाव गरेर व्यवस्थित तरिकाले सङ्कलन र प्रयोग गर्ने हो भने २७ करोड १८ लाख किलो अर्थात आवश्यक ७ लाख टन मध्ये २ लाख ७१ हजार ८ सय टन बराबरको रासायनिक मलको आयात कम गराउन सकिन्छ ।
रासायनिक मल किन्नका लागि हरेक वर्ष बाहिरिने नेपालको करिब ६ अर्ब रुपैयाँ पनि बचत गर्न सकिन्छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७