बारामा आएको हावाहुरी कल्पनाभन्दा बाहिरको घटनाका रुपमा देखिएको छ । मौसम पूर्वानुमानदेखि स्थानिय बासिन्दाले पनि जीवनमा पहिलो पटक देखेको घटना भएको बताएका छन् । पीडितहरूले आफ्नो जीवनकालकै भयावह हावाहुरी देखेको बताएका छन्।
उर्मिला सिंह, फेटा, बारा
मैले भीषण हावाहुरी अन्यत्र आउने गरेको सुनेकी थिएँ, तर बाल्यकालदेखि अहिलेसम्म आफैँले यस्तो देखेकी थिइनँ।
हावाहुरीसँग असिना पर्न थालेपछि मानिसहरू घरभित्र पसे। हावाहुरीले घर नै भत्काएपछि र छानाहरू उडाएपछि कहाँ जान्थे र?
फसेकाहरूलाई निकाल्ने मानिस थिएनन्। वर्षा र पानी रोकिएपछि बल्ल मानिसहरू उद्धारमा जुट्न थाले। धेरै मात्रामा चामल लगायतका खानेकुरा नष्ट भएको छ।
ठूला मान्छेले त भोक सहन गर्न सक्लान् तर बच्चाहरूलाई गाह्रो छ। सबैतिरबाट सहयोगको खाँचो छ।
कुसुम कलु, ७०, भरवलिया, बारा
मैले पुनर्जन्म नै पाएकी हुँ। घरभित्रबाट भाग्नलाई ढोका खोल्नासाथ छाना खस्यो। सुतिसकेको भए अथवा अलिकति ढिलो भएको भए बाँच्ने थिइनँ। आफ्नो त खेतीबारी केही छैन। चिउरा लगायत खानेकुरा बाँडिरहेका छन्, त्यही खाएर बसेका छौँ।
इन्दु देवी, फेटा, बारा
मेरो छोरा, देवर र सासुलाई चोटपटक लागेको छ। हाम्रो दुईवटा घर भत्केको छ। रुन थाल्यौँ, राति पकाइसकेको खाना पनि कसैले खान सकेनौँ।
रामसरुफ राउत, भरवलिया, बारा
कतिपयका बच्चा फेला परिरहेका छन्। आ-आफ्नो ज्यान बचाउन हम्मेहम्मे परिरहेको थियो।अरूलाई बचाउने त परको कुरा भयो। अचानक भुमरी परेर घरहरू भत्किन थाले। डोजर आएर बाटो खोलेको छ। वीवीसी नेपालीसेवाको सहयोगमा
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५, १४:३७