काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारले संवैधानिक पदहरूमा गैरकानुनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनको घोषणा गर्दै प्रचण्ड–नेपाल समूहले आज आम हड्ताल गरेको हो । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । आम हड्तालको प्रभाव काठमाडौं उपत्यकामा बिहानैदेखि देखिन थालेको छ ।
बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ परेका छन् भने कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।
सरकारले संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढङ्गले संसदीय सुनुवाई बिनै शपथ गराएपछि प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आन्दोलनको कार्यक्रम थप सशक्त गर्ने निर्णय गरेको हो ।
हिजो पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले बन्द हड्ताल लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि हिजो साँझ पार्टीले काठमाडौंमा मसाल जुलुस निकालेको थियो ।
देश आन्दोलनमै रहेको अवस्थामा सरकार र राष्ट्रपति मिलेर बलमिच्याइँ पूर्वक संवैधानिक परिषदमा पदाधिकारी नियुक्त गरी शपथ गराइएको, सभामुखलाई संवैधानिक परिषद् बैठकमा नबोलाइएको र संसदीय सुनुवाइ नै नगरी नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले विरोध गरेको हो । पार्टीले सरकारको कदम खारेजीको माग समेत गरेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७, ०७:५८