काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देखिएका राजनीतिक रस्काकस्सीमा देश मुठभेडमा जाने देखिएको छ ।
नेकपाका दुवैपक्ष एकअर्का विरुद्ध आक्रामक रुपमा उत्रिएका छन् । बन्द हडताल, शक्ति प्रदर्शनले राजनीति मुठभेडतर्फ उन्मुख भएको छ ।
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहले संसद विघटन र संवैधानिक नियुक्ति विरुद्ध जनजीवन प्रभावित हुने गरि हिजो आमहडताल गरेको थियो । त्यसको प्रतिरक्षामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि प्रदर्शन गर्न थालेको छ । आज काठमाडौंमा ओलीपक्षको शक्ति प्रदर्शनहितको सभा हुँदैछ ।
जिल्लातहमा कार्यकर्ताहरु एकअर्काबीच मुठभेडमा नै उत्रिन थालेका छन् । कैलाली, नुवाकोट, धनुषा लगायतका केही ठाउँमा दुईपक्षबीच झपड नै भएका छन् ।
नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन अर्कोपक्षलाई कमजोर देखाउन वाकयुद्ध सुरु भइसकेको थियो ।
अहिले सडक प्रदर्शनमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको हो । त्यसकोको दोष एकले अर्कोपक्षलाई लगाईरहेका छन् ।
२०७५ साल जेठ ९ गते दुई पार्टी एकीकरण भएपछि सत्तारुढ बनेको नेकपा कानुनी रूपमा एक भएपनि राजनीतिक रूपमा विभाजित छ ।
प्रतिनिधिसभा विघटनलाई लिएर खासगरी नेकपा दुवैपक्षका शीर्ष नेताहरु नै एकाआपसमा घृणा फैलाउने तहमा उत्रिएकाले त्यसको असर कार्यकर्ताको मनोविज्ञानमा पर्ने र मुठभेड निम्तिने विश्लेषकहरुले बताएका छन् ।
प्रतिनीधिसभा विघटनपछि सर्वोच्च अदालतमा त्यस विरुद्धको रिटमा बहस भइरहेको छ । निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुङगो लगाउन छलफल गरिरहेको छ ।
ती दुईवटा निर्णय कस्तो आउँछ ? नेकपामा दुवैपक्षका लागि प्रतिष्ठाको विषय भएकाले जस्तो निर्णय आएपनि राजनीतिलाई मुठभेडमा जर्बजस्त लजानै अवस्था देखिन्छ ।
एकले अर्कोपक्षलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेकाले मुठभेड बढ्दै जाँदा राजनीतिक दल र नेताको नियन्त्रणबाट परिस्थिति बाहिर जान सक्छ । त्यो रिक्ततामा गैरराजनीतिक शक्ति र विदेशी अस्वभाविक चलखेल बढेर देशको बागडोर नै गलत बाटोमा जाने संकेत देखिदैछ । त्यसले अझ अर्को मुठभेड निम्त्याउने छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७, ०७:३९