काठमाडौँ । सरकारले गत आर्थिक वर्षदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि सेनेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ ।
विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ ।
स्कुलमा नै सेनेटरी प्याड पाइन थालेपछि पाँचथरको फिदिम माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत श्रेया लिम्वुलाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन ।
विद्यालयमा लगभग १ हजार छात्रा अध्ययनरत छन् । ती मध्ये महिनावारी हुने किशोरीको सङ्ख्या ९ सय छ । उनीहरूलाई विद्यालयले नियमित सेनेटरी प्याड दिँदै आएको छ ।
श्रेयाका अनुसार यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल छुटेको छैन । विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफू जस्तै किशोरीलाई सजिलो भएको श्रेयाको भनाइ छ ।
महिनावारिको समयमा विद्यालय जाँदा मनिका तामाङ्गको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । विद्यालयमा प्याड पाउन थालेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि पिर छैन ।
उहाँ भन्नुहुन्छ ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कति पल्ट आफू बसेको वेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महशुस हुन्थ्यो । अहिले अर्को प्याड तुरुन्तै विद्यालयमा पाइन्छ र फेर्न सकिन्छ ।’
सप्तरीको महिकर माध्यामिक विद्यालयले पनि गएको आर्थीक वर्षदेखि नै सेनेटरी प्याड वितरण गर्दै आएको छ । अहिलेसम्म ४ सय ५१ छात्राले विद्यालयमै प्याडको प्रयोग गरिसकेका छन् ।
विद्यालयमा प्याड वितरण सुरु भएपछि विद्यालय आउने छात्राहरूको सङ्ख्या बढेको छ ।
१० कक्षामा अध्ययनरत श्रीति कुमारी भन्नुहुन्छ ‘अहिले पढाइमा कुनै वाधा पुगेको छैन । महिनावारीको समय पेट दुख्यो भने औषधि र आराम कक्षसमेत व्यवस्था छ विद्यालयमा, त्यसैले ढुक्कका साथ विद्यालय आउन सकिने अवस्था छ ।’
दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयका पार्वती मिश्रलाई पनि विद्यालयमा प्याड वितरण सुरु भएपछि सजिलो भएको अनुभव छ । पहिले घरपरिवारबाट पनि महिनावारी हुँदा नजाउ भन्नुहुन्थ्यो ।
हिजोआज त्यस्तो छैन । विद्यालयमै प्याड उपलव्ध हुँदा घरका मान्छे नि ढुक्क छन् । २ सय ५० जना छात्राले नियमित सेनेटरी प्याडको प्रयोग गरिरहेका छन् । पहिले महिनावारी भयो भने कम्तीमा ४ दिन विद्यालय आउन बन्द गर्ने छात्रा अहिले नियमित विद्यालय आउने विद्यालयका शिक्षक तथा स्रोत व्यक्ति राधिका पाल बताउनुहुन्छ ।
सरकारले चालु आर्थिक वर्षका लागी देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहमार्फत सशर्त अनुदानको रुपमा १ अर्ब ८२ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।
स्थानीय तहमार्फत विद्यालयलमा सेनेटरी प्याड वितरणको काम भइरहेको छ । दोलखाको कालीनाग माध्यामिक विद्यालयका छात्रा प्रतिमा सिवाकोटीलाई पनि अहिले महिनावारी हुदा कुनै चिन्ता लाग्दैन ।
‘यो कार्यक्रम सधैँ चलीरहे हुने जस्तो लाग्छ । ताकि हामी जस्तो किशोरीले महिनावारीको कारण बीचमै पढाइ छोडेर घर जान नपरोस् ।’ प्रतिमाले भन्नुभयो ।
कालीकोटको बडिमालिका माध्यमिक विद्यालयमा पनि महिनावारीका समयमा बीचमा नै पढाइ छोडेर घर जाने किशोरीहरूको सङ्ख्या घटेको छ ।
विद्यालयका छात्रा बिजु शाही भन्नुहुन्छ, ‘पहिले लाजले पनि प्याड माग्न जादैन थियौँ, अहिले बिस्तारै लाज घटेको छ । पढाइ नै छोड्नुभन्दा मिसहरूसँग प्याड मागेर लगाउँछौ र पढाइमा निरन्तर आइरहेका छौँ । यसपाली रिजल्ट पनि राम्रो ल्याउँछु भन्ने लागेको छ ।’
प्याड वितरण कार्यक्रमले विद्यालयमा किशोरीहरूको उपस्थिति बढेको छ भने उनीहरूको शैक्षिक स्थिति पनि सुधार हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७, १७:१८