काठमाडौँ । कानुनी रुपमा विभाजनको नजिक पुगेको नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीभित्रको विवाद र वास्तविकताका बारेमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग छलफल गरेको छ ।
काठमाडौँमा आज भएको छलफलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरु सहभागी भएका थिए ।
छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिको प्रहार भएको बताउनुभयो ।
लोकतन्त्रको पक्षमा आफूहरुलाई समर्थन आवश्यक भएको उल्लेख गर्दै प्रचण्डले अलग–अलग भेटेर अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी भइसेकेको र चाँडै संयुक्त छलफलसमेत हुनसक्ने जानकारी दिनुभयो ।
पत्रकारको जिज्ञासामा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा नेकपाको प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाललगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७, १६:२७