काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहले नेता रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा दिएको अभिव्यक्तिको विषयलाई लिएर अनुसन्धानका लागि प्रहरीले विहान झाँक्रीलाई काठमाडौँको शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो ।
नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै झाँक्रीको गिरफ्तारी भएको टिप्पणी गर्दै यसले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको उल्लेख छ ।
पक्राउ गर्नुअघि सुरक्षाकर्मीले झाँक्रीलाई पक्राउपूर्जी दिएको थियो भने पक्राउविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुले झाँक्री निवास बाहिर नाराबाजी गरेका थिए ।
राज्यविरुद्धका कसुर अन्तर्गत अनुसन्धान गर्न भन्दै सरकारले पक्राउ पूर्जी जारी गरेको हो । केही दिनअघि गोरखामा सो पक्षको कार्यकर्ता भेलामा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत विषयमा लान्छना लगाउँदै अभिव्यक्ति दिनुभएको थियो ।
मौखिक रुपमा सोधपुछका लागि सिभिल प्रहरी उहाँको निवास पुगेको थियो । तर झाँक्रीले पक्राउ पूर्जी ल्याए मात्र गिरफ्तारी दिने अडान राखेपछि पक्राउपूर्जी जारी गरिएको थियो ।
गिरफ्तारी दिनुअघि पत्रकारसँग संक्षेपमा आफ्नै निवासमा कुरा गर्दै झाँक्रीले आफ्नो मुद्दा राजनीतिक भएको भन्दै त्यसलाई राजनीतिक ढङ्गले समाधान खोजिने बताउनुभयो ।
मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राष्ट्रपतिलाई धम्की दिनेलाई सात वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७, १४:३४