काठमाडौँ । आज दसौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
रेडियोको महत्व तथा भूमिकालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घको आव्हानमा सन् २०१२ फेबु्रवरी १३ का दिनबाट प्रत्येक वर्षको फेब्रुवरी १३ मा विश्वभर रेडियो दिवस मनाउन थालिएको हो ।
विगत वर्षहरू जस्तै यस वर्ष पनि समुदायको समेत सहभागितामा रेडियो प्रसारणको महत्व एवं प्रसारकको दायित्ववमा केन्द्रीत सरोकारवालाहरूको समेत सहभागितामा विभिन्न कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइदै छ ।
यो वर्ष ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने मूल नाराका साथ संसारभरि नै विश्व रेडियो दिवस मनाइँदै छ । इभोलुसन (विकास), इनोभेसन (आविस्कार) र कनेक्सन (सम्पर्क) यो वर्षको विश्व रेडियो दिवसका निम्ति तयार गरिएका सहायक विषयवस्तु रहेका छन् ।
रेडियो मानव समुदायको निकट एवं सरल र भरपर्दो माध्यमको रूपमा स्थापित छ । विश्वमा प्रविधिले ल्याएको परिवर्तनसँगै रेडियोको विकास र विस्तारमा पनि परिवर्तन भएको छ ।
रेडियो प्रविधिको विकास र आविश्कारले गर्दा विश्व समुदायलाई रेडियोका विषयवस्तुले तीब्र गतिमा जोड्ने काम गरेको छ ।
प्राकृतिक प्रकोप, सामाजिक आर्थिक समस्या, महामारी जस्तोसुकै परिस्थितिमा पनि रेडियोले संकट न्यूनिकरणमा योगदान दिदै आएको छ ।
दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले सबै रेडियो र रेडियोकर्मीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
आगामी दिनमा विकटमा रहेका,अन्य माध्यमको पहुँचबाहिर रहेका, अल्पसङ्ख्यक, विपन्न र आवाजविहीनहरूको आवाजको रूपमा आम नागरिकलाई सही सूचना सम्प्रेषणमा रेडियोको भूमिका अझ प्रभावकारी बनाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
दिवसको अवसरमा अकोराब र युनेस्कोको आयोजनामा दिउँसो साढे १ बजेपछि भर्चुअल छलफल हुँदैछ ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७, ११:२७