काठमाडौं ।
आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भयो । ६ सय भन्दा बढि घाइते भएका छन् । घाइते केही उपचारपछि घर फर्किएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मृतकको दाहसँस्कार त भयो तर परिवारको भने बिचल्ली भएको छ । बस्ने बासको व्यवस्था नहुँदा परिवारले क्रिरियाकर्म केहीदिन पछि सारेको बताएका छन् ।
केहीबेर अघि सीआईएनसँग कुराकानी गर्दै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले हिजो प्रधानमन्त्री, मन्त्री लगाएतका विशिष्ट व्यक्तिको स्थलगत अवलोकनको कार्यक्रम भएकाले बढि समय सुरक्षा व्यवस्थामै खर्चनु परेको र प्रभावितको विषयमा धेरै जानकारी लिन नपाएको बताउनुभयो ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
हिजो दिनभर उद्धार र राहतको काम कसरी गर्नुभयो ?
प्रारम्भीकर रुपमा विभिन्न संघ संस्थाहरु स्वस्फुर्त रुपमा राहत लिएर आउनुभएको भन्ने सूचना मलाई पनि प्राप्त भएको छ । अब हिजो सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्रीज्यूहरुको स्थलगत अवलोकनको कार्यक्रम रहेको हुँदा त्यही कार्यक्रम संयोजनतर्फै बढि समय केन्द्रीत रहनुप¥यो ।
संस्थागत रुपमा कुनकुन संस्थाले के कति राहत के कसरी वितरण भयो भन्ने विषयमा म साँझसम्म पनि अपडेट हुन सकिनँ । तथापि मलाई प्राप्त भएको जानकारीका आधारमा संघसंस्थाहरुले राहतको प्याकेज लिएर आउनुभयो र वितरण भयो ।
तपाईहरु अन्य जिल्लामा पनि काम गरेर आउनुहुन्छ । अहिले बारा/पर्सामा मात्रै होइन अन्य जिल्लामा पनि देखिने समस्या हो यो, विशिष्ट व्यक्तिहरुको आगमनले दर्गा सुरक्षा व्यवस्थामै केन्द्रीत हुनुपर्ने अनि पीडित झन पीडामा पर्ने अवस्था हुन्छ । यस्तो अवस्थामा बरु विशिष्ट व्यक्तिको आगमन तत्काललाई रोकौं हामी प्रभाविततर्फ नै केन्द्रीत हुन्छौं भनेर किन भन्न सक्नुहुन्न ?
यसलाई त्यसरी पनि बुझ्न हुँदैन । किनभने हामीले राज्यका निकायहरु जहाँबाट भोली पुनस्थापनाका र थप राहतका कुराहरु अपेक्षा गछौं, हाम्रो अवस्था के छ, यहाँको लिमिटेसन के छ भनेर उहाँहरुलाई समयमै जानकारी गराउन सकिएन भने निर्णय लिने कुरा ढिला हुँदाखेरि झन असहजता उत्पन्न हुन सक्छ ।
हामीलाई यि कुराहरुमा भन्दा पीडित क्षेत्रका भग्नावशेषहरु हटाउने, उहाँहरुका अस्थायी संरचनाहरु बनाउने विषय यहाँले भनेको जस्तो प्राथमिकताको विषय त हो । तरपनि यो कुराहरुलाई पनि उद्धार र राहतको विषयसँगै लिएर जानुपर्ने कुराहरु हो ।
पानी खाने भाँडा पनि छैन, दाहासँस्कार त ग¥यौं तर क्रिरिया बस्ने ठाउँसमेत छैन भन्ने पीडितको गुनासो छ । यि विषयहरुलाई चाहिँ कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
एकैदिनमा यि सबै कुराहरु गर्न सकिदैन । भएको भए राम्रो हुन्थ्यो भनेर अनुमान गर्न सकिने कुराहरु हुन् । हामीसँग पनि जनशक्ति थोरै छ, त्यही जनशक्तिलाई धेरै ठाउँमा परिचालन गर्नुपर्ने हुन्छ । जिल्लाको शान्तिसुरक्षादेखि सबै कुराहरुमा संयोजन गर्नुपर्ने भएकोले हाम्रा केही लिमिटेसन पनि छन् त्यो कुरालाई पनि बुझिदिन म यहाँहरुलाई आग्रह गर्छु ।
हिजो हाम्रो पहिलो दिन थियो, नीतिगत निर्णयहरु गर्नुपर्ने, विभिन्न संघसंस्थाहरुलाई आह्वान गर्नुपर्ने, हामीसँग पर्याप्त खाद्य सामग्री र नन खाद्य सामग्रीको पनि मौजाद नभएको स्थित । त्यसो भएकोले मलाई लाग्छ अब आज ८ बजेदेखि यहाँहरुले यि प्रश्नहरुको जवाफ आफैंले फिल्डमा पाउनुहुन्छ । हामी आजबाट परिचालित हुन्छौं ।
यस्तो बेलामा सहयोगका लागि धेरै संघसंस्था र निकाय आउँछन् । विपत्को बेला सहयोग नगरौं त हामी भन्न सक्दैनौं तर त्यसलाई व्यवस्थित र सबै प्रभावितले सहयोग पाउनेगरी र आवश्यक अनुसारको सहयोग पाउनेगरी कसरी समन्वय गर्दै हुनुहुन्छ ?
अब हामीले त एकद्धार प्रणाली मार्फत्, जिल्ला प्रशासन/विपत् व्यवस्थान समिति मार्फत् नै जाने भनेर निर्णय पनि गरेका छौं अनि आह्वान पनि गरेका छौं ।
सँगै सहयोग गर्न चाहने व्यक्तिहरु जो सानो सहयोगको रकम लिएर यहाँ आउन असहजता हुन्छ, उहाँहरुका लागि विपत् व्यवस्थापन सहायता कोष भनेर राष्ट्रिय वाणिज्य बैंकमा खाता पनि खोलेका छौं । खाता नम्बर सार्वजनिक पनि गरेका छौं ।
तथापि अब एउटा विगतदेखिको प्रवृत्ति, राहतका नाममा केही कुराहरु लिएर आउने अनि जहाँ सजिलो छ त्यहाँचाहिँ धेरै व्यक्ति र समूह जाने र कुनै ठाउँमा कोहीपनि नपुग्ने विगतदेखिको तितो अनुभव छ ।
आजैदेखि हामी फिल्डमा जान्छौं, कहाँ कहाँ कुन गाउँपालिकामा, स्थानीय तहमा, नगरपालिकामा कति राहत सामग्री प्राप्त भएको छ, उहाँहरुले कहाँ राख्नुभएको छ, कहाँ कहाँ वितरण गर्नुभयो त्यसको जानकारीको आधारमा कुनैपनि व्यक्ति/समूह नपुगेको ठाउँमा हामी पुग्छौं ।
संघीय सरकारबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओली, उप प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द यादव, गृहमन्त्री रामबहादुर थापा, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ जानु भएको थियो । प्रदेश सरकारकामुख्यमन्त्रीसहितअधिकांशमन्त्री, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल लगायतको भीभीआइपी र भीआइपीहरुको टोली पुगेको थियो ।आज पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बारा जाने कार्यक्रम छ । उहाँ बिहान ११ बजे बारा जानुहुनेछ । आजै पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि बारा जाने कार्यक्रम छ ।उहाँ बिहान ९ बजे बारा जाने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५, ०७:३९