काठमाडौँ । कीर्तिमानी साहित्यकार डा डीआर उपाध्यायको उपन्यास 'कफी लभ' लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लेखक उपाध्याय, सङ्गीतकार सन्तोष श्रेष्ठ, साहित्यकार भुवनहरि सिग्देल, कवि तथा निर्देशक हेम प्रभास, लेखक तथा नेपाल पूँजि बजार लगानीकर्ता सङ्घका अध्यक्ष राधा पोखरेल, गायक तथा सङ्गीतकार सागर अधिकारीलगायतले एक कार्यक्रमका बीच आज उपन्यासको संयुक्त लोकार्पण गर्नुभएको हो ।
प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण समारोहमा कुलपति उप्रेतीले डा डीआर उपाध्यायले आख्यान र गीत दुवै विधामा कलम चलाउने गरेका कारण 'कफी लभ'ले पाठकको मन जित्ने विश्वास गर्नुभयो ।
यसअघि पनि उपाध्यायका ११ पुस्ताकृति आइसकेको उल्लेख गर्दै आगामी दिनमा नेपाली समाजले भोगेका तर नलेखिएका अरु विषयमा कलम चलाउन पनि आग्रह गर्नुभयो ।
डा उपाध्यायको व्यक्तित्वका बारेमा चर्चा गर्दै सङ्गीतकार श्रेष्ठले नेपाली साहित्यका सबै विधामा सक्रिय थोरै साहित्यकारहरुको सूचीमा उपाध्यायको नाम पनि एक भएको टिप्पणी गर्नुभयो ।
गीति क्षेत्रमा समेत उत्कृष्ट स्थान बनाएको भन्दै श्रेष्ठले भन्नुभयो, 'डीआर उपाध्यायको व्यक्तित्व, लेखन शैली र गुणस्तर लोभलाग्दो छ। उहाँका रचनाहरु अहिले लेख्दै आइएको भन्दा फरक पाउन सकिन्छ ।'
साहित्यकार भुवनहरि सिग्देलले उपन्यास 'कफी लभ' जुनसुकै उमेर समूहका पाठकलाई पढ्दा आनन्द आउने खालको भए पनि पाको पुस्ताले आफ्नो किशोरावस्थाको सम्झना गर्दै पढ्न सुझाव दिनुभयो ।
कवि तथा निर्देशक हेम प्रभासले उपन्यासको समीक्षा गर्दै पात्र, विषयवस्तु, शैलीमा नयाँ पन दिन खोजिएको भन्दै प्रशंसा गर्नुभयो। औपन्यासिक सिद्धान्त र उपन्यासका बारेमा विचार राख्दै उहाँले पात्रहरु एकअर्कालाई थाहा नहुने विषय पाठकले मात्र थाहा पाउने गरी आकर्षक शैली अपनाइएको धारणा राख्नुभयो ।
उपन्यास प्रकाशनका लागि गरिएको मेहनत र प्रकाशित भइसकेपछिको अपेक्षाका बारेमा अनुभव सुनाउँदै लेखक उपाध्यायले आगामी वैशाखमा नयाँ उपन्यास ल्याउने तयारीभ भएको सुनाउनुभयो । समाजशास्त्रमै विद्यावारिधि गरेका कारण समाजका विषवस्तु आफ्ना कृतिमा हुने उहाँको भनाइ थियो ।
समाजमा बलात्कार लगायतका हिंसाका घटना बढ्दै गएको उल्लेख गर्दै बलात्कारीलाई नपुंशक बनाउनका लागि सरकारले कदम चाल्नुपर्छ भन्नुभयो । 'कफी लभ' उहाँको ११औँ उपन्यास हो ।
डा उपाध्यायले गिनिज वर्ल्ड रेकर्डसहित ३२ वडा विश्व रेकर्ड बनाइसक्नुभएको छ भने आगामी बैशाख महिनामा १५ देखि २० वटा अरु नयाँ रेकर्डको तयारी भइरहेको जानकारी उहाँले गराउनुभयो । शिखा बुक्स पब्लिकेशनले 'कफी लभ' बजारमा ल्याएको हो ।
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७, १७:५१