काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थिरता आउन नदिन आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको दावी गर्नुभएको छ ।
आफू नेतृत्वको सरकारको तीन वर्ष पूरा भएको अवसरमा आज देशबासीलाई सरकारले गरेको कार्य प्रगतिबारे जानकारी गराउँदै उहाँले थप्नुभयो, 'प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान’ बनाउने कि अर्को विकल्पमा जाने भन्नका लागि प्रधानमन्त्रीको हैसियतले मेरा सामु सीमित विकल्प थिए ।'
त्यही विकल्पमध्ये उपयुक्त विकल्प प्रतिनिधिसभा विघटन भएकाले त्यसो गरेको उहाँले प्रष्ट पार्नुभयो ।
'एकातिर प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने विकल्प थिएन । अर्कातिर ६४ प्रतिशत सांसदद्वारा समर्थित सरकारलाई आफ्नै दलका सहकर्मीद्वारा चल्नै दिइएन,यस्तो जटिल अवस्थामा राष्ट्रप्रति जिम्मेवार हुँदै आफूले सो कदम चालेको उहाँले प्रष्ट पार्नुभयो ।
एकातिर जनताको उच्च आकाङ्क्षा सम्बोधन गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिएझैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना गरिएको उहाँको भनाइ थियो ।
संबैधानिक अङ्गमा केहीगरी कसैको सिफारिस भइहाले कचिङ्गल मच्चाइनु र आप्नै दलका सदस्यले संसदीय सुनवाई समितिमा नियुक्ति अड्काएको सम्झदै प्रधानमन्त्री ओलीले थप्नुभयो, 'यहाँसम्म कि, “सनसेट ल” को रुपमा प्रस्तुत गरिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको ‘शीघ्र निर्माण’का लागि मस्यौदा गरिएको ‘विकास सम्बन्धी विधेयक’ र ‘सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विधेयक’लाई समेत अलमल्याई सार्बजनिक सेवा प्रबाहमा अवरोध पुर्याई बिकासको गति नै अवरूद्ध गरिने काम भयो ।'
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र त्यसले अंगिकार गरेको सामाजिक साँस्कृतिक मूल्यको विरुद्धमा आफू नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७, १८:०४