काठमाडौं । संसद विघटनका विषयमा अदालतमा परेको रिटमा आज पनि अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दिने भएको छ । आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको सर्वोच्च अदालतले जनाएको छ ।
गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रिबहादुर काकीले र हिजो दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्नु भएको थियो । हिजोको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो ।
खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गर्नुभयो । मैनालीले संसद विघटन अधिकार भएको बताउनुभयो ।
आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिनुहुनेछ । एमिकस क्युरीको बहस सकिएपछि सर्वाेच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।
संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७, ०८:३७