काठमाडौँ । इलाम, नेपालको सुदूरपूर्वको जिल्ला । इलाम भन्नेबित्तिकै प्राय मान्छेहरूको सम्झनामा चियाबारी आउँछ । कुबेर नेपाललीले त्यही चियाबारीमा लुकामारी गर्दै भाका हाल्न सिक्नुभएको हो । अनि गायक बन्ने सपना पनि देख्नुभयो ।
सङ्गीतमा केही गरूँला र जिन्दगीको रङ फेरूँला भन्ने सपना कुबेर नेपालीको बाल्यकालकै हो । अरुको गीत टपक्कै टिप्ने कला र जस्ताको त्यस्तै सुनाउन सक्ने गला ।
त्यही प्रतिभाका कारण कुबेरले बाल्यकालमा स्याबासी मात्रै पाउनु भएन, गीत गाएरै इनाम पनि जित्नुभयो ।
त्यसबेलाका दिन सम्झँदै कुबेर मुस्कुराउनु हुन्छ र भन्नुहुन्छ, ‘पहिलो पटक गीत गाउँदा पाँच रुपैयाँ पाएको थिएँ, त्यो मेरा लागि धेरै ठूलो पैसा थियो । पुरस्कार पाएपछि भुँइमा खुट्टै थिएनन् नि !’
उमेरले २३ वर्ष टेकेपछि सुरु भयो, सङ्गीतको पहिलो यात्रा । जुन यात्रा थियो, इलामदेखि काठमाडौँसम्मको । सङ्गीत र काठमाडौँ सोँचे जस्तो सजिलो थिएन । निक्कै सङ्घर्ष गर्नुभयो । ती दिनहरूले कुबेरलाई अहिले पनि भावुक बनाउँछ ।
गाडी हाँक्न थालेपछि गीतसङ्गीतको गाडी छुट्दै गयो । उहाँलाई लाग्न थाल्यो, ‘सङ्गीतभन्दा त साँच्चै गाडी हाँक्नै सजिलो ।’ जीन्दगीका केही वर्ष गीतसङ्गीतसँग टाढिएरै बिते तर पूरै बिर्सन कहाँ सकिन्थ्यो ।
सङ्गीत सिक्न कुबेर नेपालीले एक महिना काठमाडौँको डोरेमी सङ्गीत विद्यालयमा धाउनुभएको थियो । तर आर्थिक जोहो हुन नसक्दा सङ्गीत सिक्ने चाहना पूरा हुन पाएन ।
सङ्घर्षकै दिनहरूमा एक दिन सङ्गीतकर्मीको सङ्गत र तक्दीरले उहाँलाई रेडियो नेपालको आँगनसम्म पुर्यायो । सन्दर्भ थियो, आधुनिक गीत गायन प्रतियोगिताको ।
त्यो प्रतियोगितामा आफ्नै सङ्गीतमा गीत गाउनुभयो । ‘पहिलो दोस्रो हुने त आस थिएन, तर टपटेनमा पनि नपर्दाचाहिँ मन कस्तोकस्तो भयो’ कुबेर सम्झँदै भन्नुहुन्छ ।
काठमाडौँ आएको चार वर्ष बितिसक्दा पनि गीतसङ्गीतमा सफलता मिल्ने छाँटकाँटै थिएन । बरु साँझबिहानको छाक टार्नै समस्या थियो । कुबेरले मजदुरी गरेर जोहो गरेको रकम खर्चिनुभयो, र गाउनुभयो पहिलो गीत । ‘आफ्नै गीत रेडियोमा सुनेर बहुत खुसी भएँ’ यसो भनिरहँदा कुबेरका आँखाभरि आँसु छचल्किए ।
पहिलो गीतले सफलताको स्वाद त चखाएन तर आनन्दको अनुभूति भने दियो । यता कुबेरका सङ्घर्षका दिन फेरिएका थिएनन् । मजदुरी गर्दागर्दै उहाँ चालक बन्नुभयो ।
गाडी हाँक्न थालेपछि गीतसङ्गीतको गाडी छुट्दै गयो । उहाँलाई लाग्न थाल्यो, ‘सङ्गीतभन्दा त साँच्चै गाडी हाँक्नै सजिलो ।’ जीन्दगीका केही वर्ष गीतसङ्गीतसँग टाढिएरै बिते तर पूरै बिर्सन कहाँ सकिन्थ्यो ।
सङ्गीतको तीन दशक लामो यात्रामा औँलामा गन्न सकिने सफलता र बेहिसाब असफलता मिलेको छ । त्यही असफलताको टेको समातेर खुसीको घाम झुल्किने प्रतिक्षामा हुनुहुन्छ, कुबेर नेपाली ।
धेरथोर पैसाको जोहो गरेपछि फाट्टफुट्ट गीत पनि निकाल्नुहुन्थ्यो । दर्जनभन्दा बढी गीत गाए पनि कुबेरलाई कसैले चिनेन । उमेर ढल्किंदै जाँदा उहाँको सारथी बनेको छ, सामाजिक सञ्जाल र नारायण गोपालका गीतहरू ।
अचेल उहाँले नारायण गोपालका थुप्रै गीतहरूलाई आफ्नो स्वरमा गाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो लाखौँ दर्शकको माझमा पुगेको छ ।
दर्शकबाट तारिफ र ताली पाउन थालेपछि मुर्झाएको मनले फेरि पालुवा हालेको छ । अनि गीतसङ्गीतले केही दिन्छ कि भन्ने आशा जागेको छ । तर एउटै गुनासो छ सञ्चारमाध्यमसँग ।
भन्नुहुन्छ, ‘मिडियाले चलेका कलाकार मात्रै खोज्छ, हामीलाई वास्तै गर्दैन ।’ कुबेर नेपालीको उमेर ४८ औं वसन्तको नजिक पुगेको छ ।
सङ्गीतको तीन दशक लामो यात्रामा औँलामा गन्न सकिने सफलता र बेहिसाब असफलता मिलेको छ । त्यही असफलताको टेको समातेर खुसीको घाम झुल्किने प्रतिक्षामा हुनुहुन्छ, कुबेर नेपाली ।
कुबेर नेपालीको साङ्गीतिक यात्रा बारेको अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७, ११:४७