दाङ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षितले सर्वसाधरण नागरिकले न्यायको महशुस गर्नेगरी न्याय सम्पादन गरिरहेको बताउनुभएको छ ।
जिल्लामा पहिलो महिला मुख्य न्यायाधीशका रुपमा भर्खरै आउनु भएकी गौतमसँग क्रियाशिल महिला पत्रकार डव्लुडव्लुजे दाङले सन्डेक्लव अन्तर्गत आज आईतवार तुलसीपुरमा आयोजना गरेको 'परिचयात्मक तथा न्यायमा महिला पहुँच' विषयक अन्तरक्रियामा मुख्य न्यायाधीश गौतमले न्याय सम्पादनमा पहुँच र प्रलोभन नहुने स्पष्ट पार्नुभयो ।
उहाँले हिजोका दिनको तुलनामा अहिले अदालतमा महिलाको पहुँच वढदै गएको वताउनुभयो ।
गौतमले सरकारबादी र फौजदारी मुद्दाबाहेक अरु प्राय मुद्दा मेलमिलापमा परिणत गराउने कोशिस गर्नेमा जोड दिनुभयो ।
उहाँले उच्च अदालतले छिटोछरितो, चुस्तदुरुस्त र निष्पक्ष न्याय दिने बताउँदै पीडितलाई अदालतमा रसिद शुल्क बाहेकको शुल्क नलाग्ने बताउँदै मुद्दामामिला मेलमिलामा टुंगिएपछि शुल्क पनि नलाग्ने स्पष्ट पार्नुभएको छ ।
मुद्धा मिलाउने बहानामा विभिन्न व्यक्तिले लिन सक्ने कुरालाई सङ्केत गर्दै गौतमले शुल्कका विषयमा ख्याल गर्न आग्रह पनि गर्नुभयो ।
साथै उहाँले बलत्कार जस्तो जघन्य अपराधका पीडितले जिल्ला प्रशासनको पीडित राहत कोषबाट तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले अदालतमा असहाय महिलाका लागि वैतनिक (शुल्क नलाग्ने) वकिल राखिएको र मुद्दाको छिनोफानो पनि निशुल्क गरिने बताउदै अदालतलाई डर नभई भरको आँखाले हेर्न सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा न्यायाधीश रमेशराज पोख्रेलले अदालत र पत्रकारबीचको दुरी बढाउनुपर्ने बताउदै अदालतले गर्ने हरेक क्रियाकलापको बारेमा खवरदारी हुन जरुरी रहेकोले मिडियामार्फत पनि नागरिकको पहुँचसम्म अदालत सम्वन्धी धेरै कुरा पुर्याउन सकिने वताउनुभयो ।
डव्लुडव्लुजे दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षता एवं उच्च अदालत तुलसीपुरका मुख्यन्यायधिस गौतमको प्रमुख आतिथ्यता तथा न्यायधिस रमेशराज पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७