काठमाडौँ । गाउँभरि बिजुलीका पोल ठडिएका छन् । घरसम्म तार पनि तानिएको छ । दिउँसो देख्नेलाई लाग्छ यो गाउँ त झलमल्ल होला ।
तर रोल्पाको गङ्गादेव गाँउपालिकाका वडा नम्बर ५ का स्थानीय अम्बरबहादुर केसी धिपधिपे टुकीको उज्यालोमा अध्यारो छल्न २ दिन लगाएर दाङबाट मट्टितेल लैजानुहुन्छ ।
महिनाभरिलाई पुग्ने मट्टितेल लिन उहाँ प्रत्येक महिना दाङको बजार आउनुहुन्छ । दाङ आउँदा गाडी भाडा मात्र उहाँले १२ सय खर्च गर्नुपर्छ । गाउँमा बिजुली आउँछ भनेर आश गर्दागदै वर्षौँ बित्यो ।
बिजुलीको पोल घर नजिकै आए पनि बिजुली बाल्न भने पाइएको छैन । अम्बर भन्नुहुन्छ, ‘२० हजार खर्च गरेर सोलारबाट बत्ती बाल्न खोजेको त्यसबाट १ घण्टा पनि बत्ती बल्दैन । हामीलाई त धेरै दुख छ, नेताले चुनावपछि हामीलाई बिर्सिए ।’
सरकारी निकायको लापरबाहीका कारण रोल्पाको हामपाल गाउँका झण्डै तीन हजार बासिन्दाको उज्यालोमा बस्ने सपना पूरा भएको छैन । पोल गाडेर घरघरमा मिटर जडान हुदाँ पनि गङ्गादेव गाउँपालिका ५ मा बिजुली जडान हुन सकेको छैन ।
कर्णाली प्रदेशमा २ लाख ९८ हजार ३ सय ६० घरधुरी जनसङ्ख्या छ । केन्द्रीय प्रशारण लाइन जोडिएका विद्युत बाल्ने ग्राहक सङ्ख्या ८५ हजार मात्रै छ ।
जाजरकोटको बारेकोट गाँउपालिका ४ को श्री आधारभुत विद्यालयमा कक्षा ८ मा पढ्ने ममता रोकायालाई राति अबेरसम्म पढ्न मन लाग्छ । तर पढ्ने पो कसरी ? टुकीको उज्यालोले साथ दिएको छैन ।
सोलारबाट बालिएका बत्ती २ घण्टा मात्र बल्छन् । त्यसपछी टुकीकै भरमा पढ्नुपर्छ । बिजुली बत्तीको उज्यालो भइदिएको भए आफूले रातिमा पनि अबेरसम्म बढ्न सक्ने उहाँ बताउनुहुन्छ ।
बारेकोट गाउँपालिका वडा न ४ का ५ सय ५० घरमा बिजुली पुगेको छैन । जसले गर्दा गाउँलेहरूले मकै, चामल, तोरी पिस्न पानी घट्ट नै चलाउने गरेका छन् । पानी घट्टमा एक पाथी मकै पिस्न ६ घण्टा कुर्नुपर्ने बाध्यता भएको बारेकोटका स्थानीय हरि गोपाल सिंहले बताउनुभयो ।
गाउँलेलाई पुग्ने बिजुली उत्पादन गर्न पानी भने पर्याप्त छ ।
गाउँलाई विद्युत पुग्ने पानी खोलामा खेर गएको देख्दा बारेकोटका स्थानीयहरूले आफैँ बिजुली उत्पादन गर्ने विचार गरेर २०६५ सालमा ५५ घरधुरीले १०/१० हजार रुपैयाँ सङ्कलन गरी २ किलोवाट बिजुली उत्पादन गरेका थिए ।
तर सरकारी पक्षबाट कुनै सहयोग नभएपपछि त्यसलाई गाउँलेले निरन्तरता दिन सकेनन् ।
यही वर्ष भएको आर्थिक सर्वेक्षणअनुसार सबैभन्दा धेरै वागमतीमा ९५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २७ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत पहुँच छ ।
रोल्पा र जाजरकोटमा जस्तै कालिकोटका कतिपय ठाउँमा पनि बिजुली छैन । कालीकोटको खाँडाचक्र गाँउपालिकामा पनि अझैँ विद्युत पुगेको छैन । बिजुली नहुँदा समस्या भएको स्थानीय यशोदा विश्वकर्माले बताउनुभयो ।
कालिकोटको सान्नीत्रिवेणी गाँउपालिकामा विद्युत त पुगेको छ तर १ दिन बिराएर २ घण्टामा मात्र आउँछ ।
कर्णाली प्रदेशमा २ लाख ९८ हजार ३ सय ६० घरधुरी जनसङ्ख्या छ । केन्द्रीय प्रशारण लाइन जोडिएका विद्युत बाल्ने ग्राहक सङ्ख्या ८५ हजार मात्रै छ ।
२ लाख १० हजारभन्दा बढी घरले राष्ट्रिय लाइनबाट पुग्ने बिजुली बाल्न पाएका छैनन् । आधाभन्दा बढी जनसङ्ख्या अन्धकारमा छ तर कति घरमा टुकी बल्छ ? प्रदेश सरकारसँग माग्दा तथ्याङक छैन ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार कणर्ाली प्रदेशका ५ जिल्ला जुम्ला हुम्ला, कालिकोट, मुगु र डोल्पा जिल्लामा केन्द्रीय प्रशारण लाइन पुगेको छैन । तर पुगेका जिल्लामा पनि सदरमुकामलाई मात्र सीमित छ ।
प्रदेश नम्बर १, २ गण्डकी, लुम्बिनीको अवस्था झण्डै समान ८५ देखि ८९ प्रतिशतसम्म छ । सुदूरपश्चिमको ३३ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छैन ।
प्राधिकरणका अनुसार अहिलेसम्म कुल जनसङ्ख्याको ८६ प्रतिशत जनसङ्ख्या केन्द्रीय प्रशारण लाइनको पहुँचमा छन् भने १४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँचमा छैनन् ।
यही वर्ष भएको आर्थिक सर्वेक्षणअनुसार सबैभन्दा धेरै वागमतीमा ९५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २७ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत पहुँच छ ।
प्रदेश नम्बर १, २ गण्डकी, लुम्बिनीको अवस्था झण्डै समान ८५ देखि ८९ प्रतिशतसम्म छ । सुदूरपश्चिमको ३३ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छैन ।
राजनीतिक दलहरूले जारी गरेका घोषणापत्रमा बिजुली नपुगेको ठाउँमा पुर्याउने भनिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावी घोषणामा ३ वर्षमा प्रत्येक नेपालीको घरमा विद्युत पुग्ने भनेको थियो, पछि सरकारले त्यसलाई नीति तथा कार्यक्रममा हालेको थियो ।
सरकारको तीन वर्ष त पूरा भयो तर ३० लाखभन्दा बढी जनता अँध्यारोमा नै बस्न बाध्य छन् ।
यसबारेको अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७, १६:३४