काठमाडौँ । बालविवाह लगायतका कुरीति अन्त्यका लागि अन्तर धार्मिक अगुवा र बालबालिकाका बीचमा अन्तरक्रिया भएको छ ।
ललितपुरमा आइतबार भएको कार्यक्रममा सहभागी धार्मिक अगुवाहरू बलविवाह लगायतका कुरीतिजन्य परम्परागत हानीकारक अभ्यास अन्त्यका लागि आफूहरू एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
कुनै पनि धर्मशास्त्रका मुख्य ग्रन्थले बालविवाह लगायतका परम्परागत हानीकारक अभ्यासलाई प्रोत्साहन नदिने भन्दै धर्मगुरुले धर्मशास्त्रको सही व्याख्या गराउनका लागि सबै एक भएर लाग्नुपर्ने बताएका हुन् ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले गरेको कार्यक्रममा राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपालका अध्यक्ष हर्ष थापाले समाजमा गलत परम्पराको रूपमा रहेको बालविवाह रोक्नका लागि मन्दिर, मस्जिद, चर्च, गुम्बा आदिका धर्मगुरुहरूलाई तालिम दिइरहेको बताउनुभयो ।
बौद्ध धर्मका गुरु आनन्द भिक्षुले समाजमा बालविवाह हटाउनका लागि बालबालिकालाई उचित शिक्षा दीक्षा दिनुपर्ने बताउनुभयो । बुद्ध धर्मले बालविवाह निषेध र अभिभावकको भूमिकालाई विशेष जोड दिएको उहाँको भनाइ छ ।
हिन्दु धर्ममा २५ वर्षपछि मात्रै गृहस्थ आश्रम अर्थात विवाह गर्न योग्य उमेर उल्लेख गरेको हिन्दुधर्मका अगुवा एवं मनोदार्शनिक प्राध्यापक आनन्द विनोदले बताउनुभयो ।
नेपालको कानूनले २० वर्ष पुगेपछि विवाहयोग्य माने पनि शारीरिक र मानसिक हिसाबले तयार भएपछि अर्थात २५ वर्ष उमेर पूरा भएपछि मात्रै विवाह गर्नु पर्ने उहाँको भनाइ छ ।
शारिरीक, आर्थिक तथा मानसिक रुपमा सक्षम हुनु विवाहका लागि पूर्व शर्त रहेको इस्लाम धर्मका अगुवा इरफान पोखरेलले बताउनुभयो ।
कुरानमा विवाहलाई उपासना र अनिवार्य भनेको तर पुरुषलाई कमाउन सक्ने भएपछि र महिलालाई बालबालिकालाई घरमा नैतिक शिक्षा दिनसक्ने भएपछि विवाह गर्न आदेश गरेको उहाँको भनाइ छ ।
क्रिश्चियन अन्तर्गतको क्याथोलिक धर्ममा विवाह र परिवारका बारेमा बालबालिकालाई ७ वटा सामाजिक सिद्धान्तबारे साप्ताहिक शिक्षा दिइन्छ ।
परिपक्व नभएसम्म विवाह गर्न नमिल्ने व्यवस्था रहेको क्याथोलिक धर्मगुरु जस निरौलाले बताउनुभयो । विवाह गर्ने व्यक्तिहरू राजीखुुसी भएको, देशको कानूनले तोकेको उमेर पुगेको हुनु पर्ने र विवाह गर्नलागेका युवायुवतीलाई एक हप्तासम्म परामर्श गरेपछि मात्रै विवाहको प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ ।
क्रिश्चियन अन्तर्गतको प्रोटेस्टेन्ट धर्मका गुरु ईसुजङ्घ कार्कीले चर्चमा विवाहका लागि आएको एक जोडीलाई उमेर नपुगेका कारण फर्काएको अनुभव सुनाउनुभयो ।
युद्धका बेलामा बालिकाको सुरक्षाका लागि सानै उमेरमा विवाह गरिदिने गरेको स्मरण गराउँदै उहाँले दुवै परिवारको सहमति र परिपक्व भएपछि कानूनका आधारमा विहे गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
किराँत धर्मअनुसार ६ प्रकारका विवाह गरिने परम्परा छ । मागी विवाहमा जोड दिइए पनि बालविवाहको कुरा धर्मग्रन्थ मुन्धुममा उल्लेख नभएको किराँत धर्मका अगुवा तिर्थ राईले बताउनुभयो ।
युवतीलाई मनपराउने युवाले धर्मगुरुलाई लिएर युवतीको आमासमक्ष माग्न जाने र दुवैपक्षका बीचमा सहमति भएपछि मात्रै विवाहको प्रक्रिया अगाडी बढ्ने उहाँको भनाइ छ ।
कार्यक्रममा सहभागी बालबालिकाले बालविवाह लगायतका कुरीति अन्त्यका लागि धार्मिक अगुवाले खेलेका भूमिका र धर्ममा उल्लेख भएका कुराका बारेमा जिज्ञासा राखेका थिए ।
उनीहरूले बालविवाहको असर, धर्मगुरुको र अन्य सरोकारवालाको भूमिका, महिनावारी बार्ने चलन र यसको असर, दाइजो प्रथा लगायतका विषयमा सवालजवाफ गरेका थिए ।
सबै धर्मले बालविवाहलाई निषेध गरेको भए पनि व्यक्तिगत स्वार्थका कारण केही धर्मगुरुले २० वर्षभन्दा कम उमेरमा पनि विवाह गराउने गरेका छन् । बालविवाह नियन्त्रण नेपालमा चुनौतीपूणर् बन्दै गएको छ ।
धर्मगुरुहरूको भूमिका बालविवाह नियन्त्रणका लागि प्रभावकारी नभएको गुनासो गाउँ समाजबाट अझैँ पनि आइरहेका छन् ।
अकोराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआइएनले बालविवाह, जातीय भेदभाव, दाइजो, छाउपडी लगायतका परम्परागत हानीकारक अभ्यासहरुका बिरुद्धमा सञ्चार अभियान चलाइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७