काठमाडौं । मोबाइल व्यवसायी संघ (ताम्राकार कम्प्लेक्स)ले प्रहरी प्रशासनबाटै मोवाइल व्यवसायीलाई बदमान गराउन खोजेको आरोप लगाएको छ ।
कम्प्लेक्समा संचालित मोवाइल व्यवसायीहरुको पसलबाट अवैध कार्य गरेको भन्दै प्रहरीले जथाभावी सामाग्रीहरु उठाएर लगेको घटनाप्रति आपत्ति जनाएको छ । आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले व्यवसायीलाई बदनाम पार्ने नियतले उठाएर लगिएको र लगाइएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका हो ।
मोवाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा प्रवेश गरेर जथाभावी सामाग्रीहरु उठाएर लगेको आरोप लगाउनुभयो ।
‘जथाभावीरुपमा पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरेर थुन्ने काम गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘मर्यादित रुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित नभए सम्पूर्ण व्यवसाय बन्द गरेर कडा आन्दोलनमा जान वाध्य हुनेछौं ।’
उहाँले घटनालाई तोडमोड गरी व्यवसायीहरुलाई बदनाम गरेर विभिन्न संचार माध्यमहरुमा प्रकाशित तथा प्रसारण भैरहेका समाचारप्रति पनि आपत्ती जनाउनुभयो ।
साउदले प्रहरीले पसलबाट ग्राहकहरुको मर्मतका लागि ल्याएर छाडेका मोवाइल फोनसमेत लगेको हुनाले ग्राहकलाई फिर्ता गर्न कठिन भएको जानकारी दिनुभयो । त्यसको जिम्मा प्रहरी प्रशासनले लिनुपर्ने उहाँले बताउनुभयो ।
ग्राहकहरुको मोवाइलमा भएको डाटा र व्यक्तिगत जानकारी चोरी हुनसक्ने भएको भन्दै त्यसको जिम्मेवारी कसले लिन्छ ? साउँदले प्रश्न गर्नुभयो ।
सार्वजनिकरुपमा व्यवसाय पारदर्शिता र मर्यादितरुपमा गरिरहेको समयमा प्रहरीले कुन कानुन अन्तर्गत सामानहरु जफत गरेको र उठाएको स्पष्ट कारण पनि नदिएकोमा उहाँले असन्तुष्टि पोख्नु भयो ।
वाणिज्य विभाग वा राजश्व विभागले मात्र अनुगमन गर्न पाउनृ स्पष्ट व्यवस्था रहेको भन्दै अध्यक्ष साउदले प्रहरीले ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य निन्दनिय भएको बताउनुभयो ।
यथाशिघ्र रुपमा जनसेवा प्रहरीले पसलबाट लगेका मोबाइल सेटहरु फिर्ता गरी क्षतिपुर्तिसमेत दिन आग्रह गर्नुभयो । संघले ग्राहकले मर्मतको लागि पसलमा ल्याएर छाडेको मोबाइल फोन सेटहरु प्रहरीले लगेको जानकारी दिएको छ ।
गल्ती स्वीकार
नेपाल प्रहरीले न्युरोडको ताम्राकार कम्प्लेक्सबाट मोबाइलसहित ७ जनालाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका २ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा श्रोत नखुलेको मोबाइल सहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिना बिलको राजश्व छलीका मोबाइलहरु बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरीले बरामत गरेको भनेपनि राजश्व विभागले भने बुझन मानेन ।
प्रहरीले केही बिल भएको मोवाईल पनि परेकाले छापा मार्दा गल्ती भएको स्वीकार गरिसकेकेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७