काठमाडौं । सरकारले संसद बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गर्नु भएको छ ।
मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गर्नु भएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज सिफारिस गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेका थिए ।
सर्वोच्चले ती निवेदनमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठहर्याउँदै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो ।
सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७, १३:१७