काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले टोली गठन गरेको छ ।
सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली घोषणा गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले निकालेको विज्ञप्तिमा थापा नेतृत्वको वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको उल्लेख छ ।
'यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । हाम्रो पहिलो शर्त सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्ने, प्रतिबन्ध फकुवा गर्नुपर्ने लगायतका केही छन् ।' नेकपाका एक नेताले भने ।
हिंसात्मक गतिविधि गर्न थालेपछि विप्लव नेतृत्वको नेकपामाथि २०७५ साल फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको थियो ।
दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने र वार्तापछिको सहमतिको कार्यक्रम घरमै बसेर हेर्नसकिने बताउनुभएको थियो ।
करिब एक साताअघि विप्लवले विज्ञप्ति जारी गर्दै सरकार वार्ताका लागि इमान्दार भएर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार भएमा आफ्नो पार्टी वार्ताका लागि तयार रहेको बताउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७, १२:५३