काठमाडौं । म्यान्मारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले फेरि गोली चलाएको छ ।
सेनाको गोली लागेर कम्तीमा ३८ जना मारिएका छन्। नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ ।
प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ।
म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताउनुभयो ।
बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।
सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।
गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७, ०८:३८