विपद्को समयमा वरपरको समुदायको सहयोग निकै आवश्यक हुन्छ । समुदायमा रहेका व्यक्तिले पहिले आफ्नो ज्यान जोगाउनमा ध्यान दिने, त्यसपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा राख्ने गर्नुपर्छ ।
अरु समुदायमा भएका घाइते र जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा राख्न उद्धार कार्यमा सहायता गर्नुपर्छ । वरपरको समुदायमा रहेका व्यक्तिले खानाको लागि के कस्तो व्यवस्था छ ? भन्ने कुराको बारेमा ध्यान दिने र सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
राहत
बारा र पर्सामा अहिले देखिएको विपद्मा पनि गर्ने त्यही हो । यतिबेला विभिन्न ठाउँबाट राहत वितरणको लागि सङ्घसंस्थालगायत विभिन्न व्यक्तिहरू आउन सक्छन् । नेपाल सरकारले खानेकुरामा के बाँड्ने भनेर मापदण्ड बनाएको छ ।
त्यो सबै समुदायलाई जानकारी नहुन सक्छ । त्यसैले समुदायका जनप्रतिनिधि, अगुवाहरूले कसले कस्तो किसिमका राहत ल्याएका छन् ? भन्ने कुराको जानकारी लिएर मात्र राहत वितरण गर्न दिने गर्नुपर्छ ।
जथाभावी राहतको लागि दिईएको खाने कुराले माहामारी फैलन सक्ने अर्को जोखिम हुन्छ । जसले जे दियो त्यही खानेकुरा खानु हुँदैन । दिनेले पनि जे पायो त्यही दिनुहुँदैन ।
बढी जोखिममा को–को ?
महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त व्यक्ति, स्तनपान गराइरहेका महिला, गर्भवती महिलाहरू यो अवस्थामा विशेष जोखिममा हुन्छन् । उनीहरूको विशेष ध्यान दिनुपर्छ ।
उनीहरू नजिकको विद्यालय, सामुदायिक भवनहरूमा गएर सुरक्षित भएर बस्नुपर्छ । खुल्ला ठाउँमा बस्नु हुँदैन । गर्भवती महिलाहरूले समय समयमा खानेकुरा, पानी खाईरहनु पर्नेहुन्छ ।
औषधि खानुपर्ने व्यक्तिले औषधि पनि खाईरहनु पर्छ । विशेषगरी महिलाहरूले आफ्नो बच्चाहरूलाई सुरक्षित स्थानमा राख्नुपर्छ र आफू पनि सुरक्षित स्थानमा बस्नुपर्छ ।
यो समयमा बालबालिकाको पनि विशेष ख्याल गर्नुपर्छ । किनभने उनीहरूले जथाभावी रूपमा खानेकुराहरू खाने गर्न सक्छन् जसले गर्दा उनीहरूलाई समस्या पर्न सक्छ ।
विपद्को समयमा खानेपानीको कुरामा विशेष ध्यान दिनुपर्छ । खानेपानी सकेसम्म उमालेर खाने गर्नुपर्छ । पानी उमाली सकेपछि बालेको आगोलाई राम्रोसँग निभाउनु पर्छ । नत्रभने फेरि अर्को विपद् निम्तिन सक्छ ।
सञ्चार माध्यमको भूमिका
सञ्चार माध्यमहरूले कत्ति जना मरे, कति जना घाइते भए भन्ने खबरभन्दा पनि विपद् प्रभावितहरूलाई राहत मिल्ने किसिमका समाचारहरू सम्पे्रषण गर्नुपर्छ ।
विशेष गरी स्थानीय सरकारले गरिरहेको कामको बारेमा प्रचारप्रसार गर्ने, विपद्को समयमा कहाँ कहाँ के–के सुविधा पाइन्छ भन्ने कुराको बारेमा पनि जानकारी दिनु आवश्यक हुन्छ ।
दाहालसँग गरिएको कुराकानीः
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५, १४:०१