काठमाडौँ । सङ्घीय राजधानी नेकपाको राजनीतिक गर्मीले तातिएको छ । चिसो मौसमको विदाइ र राजनीतिको गर्मी एकसाथ जुधेका छन् । ठीक त्यही बेला पश्चिमको कुनै दुर्गम बस्तिबाट नेत्रविक्रम चन्द विप्लवको आगमन भएको छ ।
छोटो समयमै अचानकजस्तो कसरी सम्भव भयो चन्द समूहको राजनीतिक अवतरण ? भनेर अर्को तातो बहस सुरु भएको छ ।
मोहन वैद्य ‘किरण’सँगको मतभेद चरम मनभेदमा पुगेपछि १३ मङ्सिर २०७१ मा नयाँ पार्टी गठन गरेर त्यसको केही दिनमा नै क्रान्तिलाई नयाँ दिशाबाट अघि बढाउने केही सङ्केत छाडेर मङ्सिरको चिसो रातमा, राजनीतिक आन्दोलनको राप, ताप बोकेर विप्लवले राजधानी छाडनु भएको थियो ।
कपिलवस्तुको कुनै अनकन्टार जङ्गलबाट नयाँ-नयाँ घोषणा सुनिएका थिए । पार्टी नयाँ बनाएलगत्तै अर्धभूमिगत भएका विप्लव २०७४ कार्तिक ८ गते काठमाण्डौँको खुलामञ्चमा खुला कार्यक्रम गरेर पूर्ण भूमिगत बन्नु भएको थयो ।
अर्धभूमिगत, भूमिगत रूपमा नै कैयौँपटक काठमाडौमा श्रीमति शोमा मल्ल, छोरीलाई कयौँपल्ट भेटन आउनुभयो हो । तर खुला रूपमा ३ वर्ष चार महिनापछि राजनीतिक गन्तब्यसहितको यात्रा राजधानीथितर सोझिएको छ ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।
यसबीच उक्त समूहले धेरै मानवीय क्षति बेहोरेको छ भने ठूलो सङ्ख्याका नेताकार्यकर्ता कानुनी झमेलामा छन् । कानुनी झमेला सल्टिएला तर मानवीय क्षति फेरि हिसावकितावको विषय बन्नेछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएको सशस्त्र युद्धमा जस्तै ।
किन मोडियो विप्लवकारी बाटो
वनवास कति पीडादायी हुन्छ ? कति जङ्घार तर्नुपर्छ ? कति भदौरे भेलमा होमिनुपर्छ ? कतिको खप्की खानुपर्छ ? कतिलाई सम्झाउनु पर्छ ? विप्लवले भोगेकै कुरा हो । त्यही पनि उहाँले वनवास नै रोज्नुभयो ।
क्रान्तिलाई नयाँ बाटो दिएर भ्रष्ट नेता र कर्मचारी, राजश्वमारा व्यापारी र सम्पत्तिधारीलाई तारो बनाएर युवा शक्तिलाई क्रान्तिको बाटोमा परिचालित गर्ने योजना थियो ।
आस गरेका नेताहरू पथभ्रष्ट भए । आचरणभ्रष्ट भए । सिद्धान्त विमुख भए । हिजोका वाचाकसम बिर्सिए । महङ्गा महलमा रङमगिए । अब हिजोका ती सबै योजना वाचा म पूरा गर्छु भन्ने हुङ्कार थियो ।
विप्लवलाई लागेको थियो होला, ‘हतियार लुकाएकै छौँ । हतियारको स्रोत थाहा छँदै छ । तालिमप्राप्त लडाका पनि छन् । जागिर नपाएका, विदेश जान नसकेका र प्रचण्डसँग रिसाएकाहरूको असन्तोषको आगो सल्काउन धेरै बारुद चाहिने छैन ।' तर, त्यसो सजिलै हुन सकेन ।
विप्लवले माओवादीकालकै वनवासकै शैलीमा भूमिगत सङ्घर्षको अभ्यास गर्न खोजे पनि उहाँले नेतृत्व गरेको पार्टीले खासै सङ्गठन विस्तार र जनसमर्थन पाउन सकेन ।
भएको जमिन नै जङ्गलमा परिणत गरी खाडी हिँडेका र सहर पसेका युवाहरू कसको जमिनका लागि लड्ने ? कसको जङ्गलका लागि लड्ने ? माओवादीको जुझारु क्रान्तिकारीता पङ्क्ति केही साथमा त रह्यो । नवआगुन्तक युवाहरूको साथ पाइएन ।
अब के त ?
त्यसैले सुरक्षित अवतरण पनि विप्लवका लागि बाध्यता बनेको थियो । यही वेला खासगरी सत्तारुढ नेकपाभित्र पार्टीको आन्तरिक विवाद र विघटन गरिएको संसद पुनस्थापनाले चेपुवामा परेपछि प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक रूपमा बलियो बन्ने आधार चहिएको थियो ।
सायद विप्लव नेतृत्वको पार्टी पनि खुला राजनीतिमा आउन वाहाना खोजिरहेका थियो । त्यसले छोटो समयमै चमत्कारिक रूपमा दुई पक्षबीच सहमति भएको छ ।
विप्लवको खुला बाटो सरकारसँग गरेको सहमति शक्ति आर्जनको रणनीति हो कि ? विश्लेषण त्यसरी पनि पनि भइरहको छ ।
खुला राजनीतिमा आएपछि विप्लवको राजनीतिक पाइला कसरी चल्छ ?
ओली नेतृत्वको नेकपासँग पार्टी एकता गरेर महासचिवको पद लिएर मूलधारको राजनीति गाडी कुदाउने वा छुट्टै अस्तित्वसहित नयाँ सङ्घर्ष गर्ने र सरकारमा पनि जाने ।
ऊर्जावान इमानदार र कटिबद्ध मानिएका विप्लवले कैयौँको मनमा उब्जिएको प्रश्नहरूको गुजुल्टो इमान्दारिताका साथ खोल्नु चुनौती बनेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७, १४:२२