काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिमा हस्ताक्षर भएको छ ।
राष्ट्रियसभा गृहमा जारी विशेष समारोहका बीच सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोलीका संयोजक तथा प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभयो ।
सहमतिपत्रमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएको उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको र सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको पनि सहमतिमा उल्लेख छ ।
हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा ओली पक्षका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु र नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७, १५:२९