काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखिको सपना रहेको मेलम्ची पानी अबका केही दिनमै राजधानीबासीले पाउने बताउनुभएको छ ।
मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्रीले यो राजधानीबासीका लागि खुसी मनाउने अवसर भएको बताउनुभयो । ‘जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । यसबेलामा लड्डु खाने हो’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले विगतमा असावधानी र प्राविधिक त्रुटिले भएको बताउँदै अबका दिनमा पानी ल्याउँदा हुनसक्ने सम्भावित जोखिमबारे मेलम्ची खानेपानी आयोजना सजग रहन पनि निर्दैशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले अहिले थुपै कामहरू अघि बढेको उल्लेख गर्दै आफूलाई काम गर्न नदिएको अहिले प्रमाणित भएको समेत बताउनुभयो । दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पनि थपेर पूरै उपत्यकालाई यथेष्ट पुग्ने पानी वितरण गरिने पनि उहाँले बताउनुभयो ।
यसका लागि पाइपहरूको परीक्षण गरी सुरक्षित पार्नसमेत उहाँले सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । मेलम्चीको पानी आगामी २६ गते थप प्राप्त गरी बागमतीमा पानी छाडिने र भोलिपल्टको शिवरात्रीमा सफा पानी उपलब्ध हुने पनि उहाँले बताउनुभयो ।
अहिले सरकारले तीव्रताका साथ विकास कार्य अघि बढाइरहेको बताउनुभयो । केही समयपछि सुनकोशी कमला डाइभर्सन निर्माण छिटै सुरु हुने बताउनुभयो ।
एकथरीले सरकारले (विकाम निर्माण कार्य ) उधुमै गर्न लाग्यो भनेर सरकारको नेत्तृव परिवर्तन गर्नतर्फ लागेको समेत उहाँले बताउनुभयो ।
जनताको साथ पाए विकास निर्माणको कार्य तीव्रतर अघि बढाउन सक्ने भन्दै प्रधानमन्त्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उधृत गर्दै भन्नुभयो, ‘तिमिले हाँसे म हाँक्न सक्छु इन्द्रको आशन’ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७, २२:४५