काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नोबेल कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनुभएको छ । दोस्रो चरणको खोप अभियान सुरु भएको पहिलो दिन नै उहाँले खोप लगाउनुभएको हो ।
नेपाल सरकारले आजदेखि पहिलो १० दिन ६५ वर्षदेखि माथिका र त्यसपछि ५५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी पत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो ।
उहाँहरूलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिनुभएको थियो ।
खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले खोप लगाउने अभियानमा सरिक हुन सबैसँग आग्रह गर्नुभयो । ‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ ।’, प्रधानमन्त्रीले खो लगाएपछि भन्नुभयो ।
खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकाले प्रधानमन्त्री केही बेर अस्पतालमा बस्नुभएको थियो । त्यसपछि सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको लडाईँ अब खोपको चरणमा पुगेको बताउनुभयो ।
आफूलाई खोप लगाएपछिका कुनै असर नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान गर्नुभयो ।
शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाउनुभए लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा कार्यरतहरूले पनि खोप लगाउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७, १४:१५