काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ अकोराबका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । हिजो भएको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले आज अकोराबको ललितपुरस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा अकोराबका पूर्व अध्यक्ष तथा योजना आयोगका सदस्य मीन शाहीले सामुदायिक रेडियोको मर्म र भावना अनुसार नीति बनाउन पहल गर्न सुझाव दिनुभयो ।
नेपालको सामुदायिक रेडियोको अभियान धेरै दुःख गरेर यहाँ सम्म ल्याइपुर्याएको भन्दै उहाँले योजना आयोगको १५ औँ योजना अनुसार पनि बहस तथा पैरवी गर्न आग्रह गर्नुभयो ।
अकोराबका अर्का पूर्व अध्यक्ष मोहन चापागाईँले अकोराबले सधैभरि सामुदायिक रेडियोको हकहितको लागि लडिरहेको स्मरण गर्दै अब पनि समावेशी र सहभागितामूलक चरित्रलाई नभूल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष गिरिले देशभरका सामुदायिक रेडियोलाई अझैँ प्रभावकारी बनाउनको लागि सम्भव भएका सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियो अभियानका क्रममा देखिएका केही असन्तुष्टिलाई सम्वोधन गर्दै सबैलाई समेटेर अगाडि जाने पनि उहाँले उल्लेख गर्नुभयो । पदभार ग्रहणपछि कार्यसमितिको पहिलो बैठक पनि आजै बसेको छ ।
अध्यक्ष अर्जुन गिरि, महासचिव किशोरजङ्ग थापा, कोषाध्यक्ष सरोज पौडेल लगायत पदाधिकारीले पदभार ग्रहण गर्नुभएको हो । अकोराबको हिजो सकिएको सातौँ अधिवेशनले गिरिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
अध्यक्ष पदका लागि मात्र भएको मतदानमा कुल खसेको १ सय ७९ मध्ये गिरीले १ सय ६३ मत पाउनुभयो भने अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १३ मत ल्याउनु भएको थियो ।
३ मत भने बदर भएको थियो । अरु सबै पदमा सर्वसम्मत चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन हुनुभएको छ ।
महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डा. रामहरि त्रिपाठीले जानकारी दिनुभयो ।
खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी चयन हुनुभएको छ ।
महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल (खेमकुमारी) चयन हुनुभएको छ । मधेसी केन्द्रीय सदस्यमा नवीननरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कृष्णकुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्तबहादुर विश्वकर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेकबहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्तबहादुर स्याङ्तान, गण्डकीबाट रामनारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कणर्ालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन हुनुभएको छ ।
लेखा समिति संयोजकमा भूमिराज चापागाईँ र सदस्यमा रामभरोसी महतो अनि प्रल्हाद पोखरेल चयन हुनुभएको छ ।
अधिवेशनले प्रदेश नम्बर १ मा विदुर खवासको अध्यक्षतामा, प्रदेश नम्बर २ मा मनोजकुमार यादव, बागमती प्रदेशमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशमा गणेश श्रेष्ठ, लुम्बिनी प्रदेशमा राजु खरालको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
कणर्ाली प्रदेशमा गोरखबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा जगतबहादुर खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७, १३:०२