काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि ब्यूतिएको माओवादी केन्द्रले एमालेबाट आफ्नो पार्टीमा नफर्किएका मन्त्रीहरुलाई कारबाहीका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी कमिटीको बैठकले एमालेमा लागेका मन्त्रीहरुसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उनीहरुलाई २४ घण्टाभित्रमा स्पष्टिकरण दिन निर्देशन दिइएको छ ।
बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन पनि दिएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशङ्कर चौधरी माओवादी केन्द्रबाट सरकारमा छन् ।
आजके स्थायी कमिटी बैठकले भोलि ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
हिजो बसेको नेकपा एमालेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेपछि माओवादी केन्द्रले कारबाही प्रक्रिया सुरु गरेको हो ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७, ११:१०