काठमाडौँ । चार महिनाको अन्तरालपछि आमनेसामने भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षका नेता संवाद जारी राख्ने सहमति गरेर छुट्टिएका छन् ।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको दुवै समूहको संयुक्त बैठकमा ३ दिनअघि (फागुन २८) अध्यक्ष ओलीले गरेको बैठक र लिइएको निर्णय बदर गर्ने कि नगर्ने भन्नेमा एकअर्को समूहका नेतालेले अडान कसाकस गरे ।
नेता नेपालले सर्वोच्च अदालतले नेकपा एमाले ब्यूँताइदिएको र फेरि सहमतिका साथ अघि बढ्नुपर्नेमा एकलौटी निर्णय किन लिइयो भन्दै अध्यक्ष ओलीलाई प्रश्न गर्नुभएको थियो ।
जवाफमा ओलीले निर्णय फिर्ता नलिने र नेपाल-खनाल पक्षले आह्वान गरेको राष्ट्रिय भेला रोक्न आग्रह गर्नुभएको नेता सुवास चन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
संवादलाई निरन्तरता दिने सहमतिका साथ आजको बैठक सकिएको ओली समुहका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । नेपाल-खनाल पक्षले फागुन २८ मा गरिएका निर्णय खारेज भएमा मात्र राष्ट्रिय भेला रोक्ने जवाफ दिएको छ ।
ओलीले फागुन २८ मा आफू निकट केन्द्रीय सदस्यहरुको बैठकबाट विधान संशोधन गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादल समूहका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेलगायतका निर्णय गराउनुभएको थियो ।
खनाल-नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
आजको बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, नेताहरु सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी हुनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७, १४:४८