काठमाडौँ । ‘साग बेच्नुहुन्छ आमा ?’ सिन्धुपाल्चोकको हेलम्बुका टासी शेर्पा मेरो प्रश्न पूरा हुन नपाउँदै भन्न थाल्नुभयो, ‘अहँ बेच्दिन म । हामीले खानु परेन ? फेरि यो सागमा त युरिया मल हालेको छैन । मीठो छ, हाम्रो छोराछोरी काठमाण्डाँैबाट आएपछि यही साग खान दिने हो । वस्तुको मल हालेको साग । हामी त बेच्दैन है बहिनी’
टासीको मलखातसँगै लहलह परेको, नरम अनि ठूलो ठूलो पात भएको हरियो साग छ । साग हेर्दा नै खाउँ खाउँ लाग्ने छ ।
टासीले भन्नुभयो, ‘यो साग गाईभैँसीको मल हालेर हुर्काएको मैले । रासायनिक र बजारमा किनमेल गरेको मल हालेको छैन । हामी त जहिल्यै गाईभैँसीको मलमात्र हाल्छौँ । मैले सुनेको ‘त्यो विषले त हाम्रो ज्यानमा बेफाइदा गर्छ रे , फेरि माटो पनि सबै विग्रिन्छ रे । यो सबैमाटो बिग्रियो भने कहाँ लगेर फाल्ने ? ’ हास्दै टासीले सोध्नुभयो ।
अर्गानिक अर्थात विषादी नछरिकन उत्पादन गर्ने व्यवसायीहरू पनि बढ्दैछन् । टासी, सीता र स्वयम्बर जस्ता प्राङ्गारिक खेती गर्ने किसान नेपालमा कति छन् भन्ने कुनै तथ्याङ्क छैन । तर पनि बिस्तारै वस्तुभाउको मल, जैविक विषादीको प्रयोग गर्नेहरू भने बढ्दैछन् ।
टासीले पढे, लेखेको नभए पनि विषादी हाल्नु हुँदैन भन्ने सुनेको आधारमा सबै जानकारी छ । मेलम्चीको जरायोटारमा भेटिनुभएका सीता धितालको अनुभव पनि उस्तै छ ।
सीता र मेरो भेट बाटोमा भएको थियो । बाटोकै छेउमा देखिएको पहेलोँ तोरीबारी, हरियो बन्दा देखेपछि मलाई प्रश्न गर्न मन लाग्यो, ‘सीता दिदी कत्तिको हाल्नुहुन्छ विषादी मल ?’ उहाँको उत्तर पनि टासीको जस्तै थियो ।
‘हामी विषादी हाल्दैनौँ । बारीमा वस्तुको पिसाब हाल्छौ बरु खरानी हाल्छौँ । एक पटक मकै बारीमा वस्तुको पिसाव हालेको त्यो वर्ष जस्तो मकै राम्रो कहिल्यै भएन ।’
फेरी बन्दा काउली पनि चारपाँच किलोको हुनी । अनि विषादी हालेको मीठो पनि नलाग्नी । गाउँमा नै अर्गानिक खेतीयुक्त बस्ति बनाउने निर्णय पनि उहाले गर्नु भएको छ ।
यसअघि विषादीको कारणले गर्दा काभ्रेको मण्डनदेउपुरको रूपा बहिनीलाई भएको क्यान्सर र त्यहाँको बस्तिमा विस्तारै देखिदै गएको असरको विषयमा गरेको रिर्पोटिङ्गको मलाई याद पनि आयो ।
रोग नलाग्दै विषादीको बेफाइदाको बारेमा जानकार भएर सजग हुने बस्तिहरू बिस्तारै विकास भइरहेको छ भन्ने कुरा पनि सीता र टासीसँगको कुराकानीबाट खुल्छ ।
काठमाण्डौँको खुमलटारमा प्राङ्गारिक खेती प्रबर्धनका लागि के गर्नुपर्ला भन्ने विषयमा छलफलका लागि पुग्नु भएका स्वयम्बर खड्काको आत्मविश्वास पनि गजब छ आर्गानिक खेतीप्रति ।
स्यम्बरले काठमाण्डौँको तारकेश्वरमा ७ रोपनी जग्गामा तरकारी खेती गर्नुभएको छ । विषादी नै विषादी छरेको माटोलाई फेरि पहिले कै अवस्थामा ल्याउन ५ वर्ष लाग्यो ।
यो वर्षदेखि भने उहाँले अर्गानिक उत्पादनबाट फाइदा लिन थाल्नुभएको छ । ‘विषादीयुक्त तरकारी खाएर धेरै रोगी भए अब हामी व्यवसायीले पनि त उपभोक्ताको बारेमा सोच्नु पर्यो नि हैन ।’ खड्काले भन्नुभयो ।
अर्गानिक खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । ‘बरु राम्रो उत्पादन हुँदैन भन्नेहरुलाई म भा,को ठाउँमा ल्याउनुहोस्, एकपटक अर्गानिक खेती गरेर हेर्नुहोस् त्यसबाट राम्रो भएन भने म त्यसको दुईसय गुणा तिरिदिन्छु ।’ उहाँले भन्नुभयो ।
यसबाट देखिन्छ कि, अर्गानिक अर्थात विषादी नछरिकन उत्पादन गर्ने व्यवसायीहरू पनि बढ्दैछन् । टासी, सीता र स्वयम्बर जस्ता प्राङ्गारिक खेती गर्ने किसान नेपालमा कति छन् भन्ने कुनै तथ्याङ्क छैन । तर पनि बिस्तारै वस्तुभाउको मल, जैविक विषादीको प्रयोग गर्नेहरू भने बढ्दैछन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार नेपालमा कुल जनसङ्ख्याको ६७ प्रतिशत नागरिक कृषिमा आश्रित छन् । कति प्रतिशतले प्राङ्गारिक खेती गरिरहेका छन् भन्ने तथ्याङ्क सरकारसँग नभए पनि विषादी र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्ने योजनामा भने सरकार छ ।
थोरै मेहनत गरेर पनि धेरै आम्दानी र उत्पादन गर्ने भ्रममा परेर किसानले विषादी तथा रासायनिक मलको प्रयोगमा लाग्ने गरेको पाइन्छ ।
विषादी र रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा हानी गर्छ भन्ने चेतनाको विस्तार गर्ने अभियानमा सरकारको पनि छ । यसको पर्याप्त प्रभाव नदेखिए पनि विषादीरहित फलफूल तथा खाद्यबाली लगाउने किसानको सङ्ख्या बढ्दै गएको छ ।
मन्त्रालयका उपसचिव गंगादत्त आचार्य भन्नुहुन्छ, ‘प्राङ्गारिक खेतीको प्रवद्र्धनको लागि कुनै विषेश कार्यालय वा विभाग बनाउन सकिएको छैन । आजभन्दा अघि पनि प्राङगारिक खेतीको लागि सरकारले प्रयास गरेकै हो ।
सरकारले उच्चस्तरी प्राङगारिक कृषि प्रबर्धन सम्बन्धी कार्यदलको सुझावमार्फत छिट्टै नै प्राङगारिक कृषि रणनीति ल्याउने तयारी रहेकोे छ ।
अहिलेसम्म प्राङगारिक कृषि प्रबर्धनका लागि विशेष रणनिति नभएकाले अबको दिनमा भने रासायनिक मलको आयात घटाउने, प्राङगारिक मलको प्रयोगलाई बढाउने, रोग किरा नियन्त्रणका लागि प्राङगारिक विषादी बनाउने यन्त्रको विकासको तयारीको लागि सुझाव दिन उच्चस्तरी प्राङगारिक कृषि प्रबद्र्धन सम्बन्धी कार्यदल गठन भएको छ ।’
थोरै मेहनत गरेर पनि धेरै आम्दानी र उत्पादन गर्ने भ्रममा परेर किसानले विषादी तथा रासायनिक मलको प्रयोगमा लाग्ने गरेको पाइन्छ ।
गाईवस्तुको मल प्रशस्तै हुने किसानले पनि रासायनिक मलको प्रयोग गर्ने परिपाटीको अन्त्य हुनुपर्ने पर्ने बताउनुहुन्छ कृषि विज्ञ डाक्टर कृष्णप्रसाद पौडेल ।
उहाँ भन्नुहुन्छ ‘सबैलाई थाहा छ, विषादीयुक्त तरकारीले कसैको राम्रो गर्दैन । त्यसैले विषादीरहित उत्पादनमा सबैले ध्यान दिनुपर्छ । यो पैसाको होइन,जीवनको कुरा हो ।’
नेपालले अर्गानिक कफी उत्पादनमा राम्रो योगदान गरेको छ र वार्षिक ७ करोड रुपैयाँ बराबरको निर्यात हुन्छ । फलफूल र अरु उत्पादनलाई पनि विषादी र रासायनिक मलबाट टाढा राख्न सक्ने हो भने उत्पादकलाई मात्र होइन, उपभोक्तालाई पनि फाइदैफाइदै हुने देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५, १७:४३