काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणका कारण एक बर्ष अघि आजकै दिन लकडाउन भएको थियो । एक सय २० दिन लामो लकडाउन साउ ६ गते अन्त्य भएको सरकारले घोाणा गरेको थियो । सबैक्षेत्र खुलेपनि घट्दै गएको कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ । खोप कार्यक्रम सञ्चालन भएपछिको अवस्थामा नेपालमा कोरोना सङ्क्रमित बढेका छन् ।
छिमेकी मुलुक भारतमा सङ्क्रमित बढ्न थालेपछी नेपालमा पनि त्यसको असर देखिन थालेको छ । नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ । कारोना विरुद्ध स्वास्थ्यका मापदण्ड पालना भएको छैन भने सीमा नाकामा कडाई छैन ।
जसका कारण कोरोनाको सङ्क्रमण झन् बढ्ने जोखिम देखिएको छ । केहि हप्ता अगााडी सम्म सेती प्रादेशीक अस्पताल धनगढीमा कोरोना परिक्षण गर्न आउनेको सङ्ख्या शुन्य नै भएको थियो । तर अहिले परिक्षणका लागि दैनिक ३० जना सम्म आउने गरेका छन् ।
३ जना नयाँ सङ्क्रमित भर्ना
हिजो मात्र सेती प्रादेशीक अस्पतालको आइसियु कक्षमा ३ जना सङ्क्रमित भर्ना भएका छन् । उनीहरु तिनै जना भारतबाट आएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौमा पनि कोरोनाका विरामी बढ्न थालेका छन् ।
अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सङ्क्रमण घटेपछि आकस्मीक कक्षमा सरदर ६ जना बिरामी उपचारमा हुने गरेकोमा अहिले यो सङ्ख्या बढ्न थालेको जानकारी दिनुभयो । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछी कतिपय प्रदेशमा फेरी लकडाउन गरिएको छ । सरकारले १६ वटा मुख्य नाकामा हेल्थ डेक्स राखेर नेपाल भित्रनेलाई जाँच गरेको भनेपनि कडाइ छैन ।
सङ्क्रमित लगातार बढे
भारतमा संक्रमण तीव्र फैलिएपछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र काम नगर्न आग्रह गरेको छ ।
नाकाबाट सरदर ३ देखि ५ सय मानिसहरु नेपाल भित्रिरहेका छन् । खुल्ला सीमाका कारण हुने आवतजावतले नेपालमा पनि सङ्क्रमण बढ्ने जोखिम बढेको जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीको भनाइ छ ।
२ दिन यता नेपालमा कोरोनाका सङ्क्रमित लगातार बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार ९ दिन अघि ३ हजार ३ सय ११ जनामा पिसिआर परीक्षण गर्दा ७९ जनामा कोरोना देखिएको थियो । हिजो ४ हजार ३२ जनामा गरिएको परिक्षणमा १ सय ८८ जनामा सङ्क्रमण देखिएको छ ।
नेपालमा हाल सम्म २ लाख ७६ हजार २ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस मध्ये २ लाख ७२ हजार ९७ जना स्वस्थ भइसकेका छन् । कोरोनाका कारण हालसम्म नेपालमा ३ हजार १९ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७, ०८:१४