बारा । त्रिभुवन राजपथ अन्तर्गत जीतपुरसिमरा ९ छातापिपराबाट झण्डै ३ किलोमिटर भित्रको एउटा विपन्न बस्ती । जहाँका नागरिक आफू बसेकै जमिनमा पनि आफ्नो अधिकार छैन ।
ग्रामीण सडक पेटीमा स-साना झुप्रा बनाएर घाम पानिको ओत लागिरहेका करिब ४० परिवारको यो गाउँ अहिले राज्यको नजरमा ‘करोडौँ कर छलेर फरार अभियुक्तहरूको बस्ती’ बनेको छ ।
गाउँमै दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका त्यही बस्तीका महन्थ महरा चमार, राम्रो रोजगारी पाउने आसमा चार वर्ष पहिले राजधानी काठमाण्डौँ पस्नुभयो ।
उहाँलाई गतिलो पारिश्रमिक दिने र काम लगाइदिने लोभमा अजय नाम गरेका एक व्यक्तिले काठमाण्डौँ पुर्याएका थिए, जसको पूरै ठेगाना महन्थ आफैँलाई थाहा छैन ।
‘दिनको ६ सय रुपैयाँले कसरी परिवार पाल्ने भन्ने चिन्ताले खाइरहेका बेला रामो काम दिने भनेर ठूलै मान्छे आएको थियो ।’ उहाँ भन्नुहुन्छ, ‘काम चाहिएको थियो, अरु केही सोधिएन ।’ ‘सबै त काठमाण्डौँ कमाउन जाने भन्छन्, त्यहाँ त सबैलाई काम मिलिहाल्छ भन्ने लाग्यो तर..।’ महन्थले थप्नुभयो ।
जीवनमा पहिलो पटक राजधानी काठमाडौँ देख्नुभएका महन्थले त्यही राजधानीमै बसेर काम गर्ने र परिवार पाल्ने सपना देख्नुभएको थियो । गाउँमा पुगेका उनै नयाँ व्यक्तिको साथ लागेर काठमाण्डौँ पसेका महन्थलाई त्यो ठाउँ पूरै नयाँ थियो ।
त्यसैले ती व्यक्ति जे भन्छन् महन्थले त्यसै गर्नुभयो ।
‘राम्रो कम्पनीमा कुरा भएको छ भनेर नागरिकता माग्यो, दिएँ, धेरै कागजमा सही गरायो । सबै गरेँ । अनि पछी बोलाउँछु भनेर दुई दिनपछि बाटो खर्चसहित घर फर्काइदियो ।’ महन्थ गम्भीर देखिनुभयो, बेलिबिस्तार लगाउँदै जानुभयो ।
काम पक्का भएपपछि बोलाउने आश्वासन बोकेर खाली हात गाउँ फर्किएका उहाँलाई फेरि काठमाण्डौँ कसैले बोलाएन । कसैले किन आफ्नै खर्चमा काठमाण्डौँ लगेर ल्यायो होला ? वर्षौँसम्म आफै अनभिज्ञ महन्थलाई त्यसबेला राजधानी पुर्याइनुको उद्देश्य अहिले प्रष्ट भएको छ ।
जागिर लगाइदिन मागिएको नागरिकताको दुरुपयोग गरी भरोसा गरेकै व्यक्तिले उहाँको टाउकोमा करोडौँ राजश्व छलीको भारी बोकाएर वेपत्ता भएका छन् ।
दैनिक ज्यालादरीमा काम गरी परिवारको गुजारा टार्दै आएका महन्थको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयवमा चन्दन ट्रेडर्स नामको कम्पनी दर्ता छ र उक्त कम्पनीले सरकारको चार करोड ७५ लाख ८७ हजार सात सय ६३ रुपैयाँ ठगी गरेको छ ।
तर यो विषयमा कम्पनीका मालिक भनिएका महन्थ आफै अनभिज्ञ छन् । ‘हामि गरिबसँग हजार रुपैयाँ हुँदैन हजुर, कागजमा लेखेको त्यत्रो पैसा मैले देखेको पनि छैन ।’ गालामा झर्न लागेका आँसु आँखाका डिलमा अड्याएर महन्थले सीआईएनसँग सुनाउनुभयो, ‘सरकार छ भने मुक्ति दिलाईदिनुस हजुर ।’
नगरेको गल्तिको दिनहुँ त्रास
महन्थ जस्तै सोही गाउँका राजेश पासवान पनि रोजगारी पाउने प्रलोभनमा चार वर्षअघि राजधानी पुर्याइनुभयो । काम दिने भनिएका व्यक्तिले उहाँको पनि नागरिकता र दस्तखत त्यसैगरी प्रयोग गरे र घर फर्काईदिए ।
त्यसपछी ती व्यक्ति पनि सम्पर्कमा आएका छैनन् । ‘हामिलाई त के भनेको थियो कि, म खबर गर्छु, अनि काममा आउनु । तर अहिलेसम्म कोही आएन । न खबर, न मान्छे ।’ राजेशले भन्नुभयो ।
दुई सन्तानसहित सात जनाको परिवारको जिम्मेवारी एक्लै काँधमा बोकिरहेका राजेशलाई अचेल यस्तो लाग्छ, ‘गाउँ आउने हरेक नयाँ मानिस आफूविरुद्ध कर छलीको पत्र बोकेर आएको हुन् ।’
उहाले चिन्ता व्यक्त गर्नुभयो, ‘म जस्तै काठमाण्डौँ गएका सबै छिमेकीको पत्र आयो । मेरो आएको छैन ।’ चिठि आयो भने त अब जेल लैजान्छ । अनि मेरो परिवार कस्ले पाल्छ होला ?’ राजेशलाई जेल जानेभन्दा ठूलो चिन्ता घरपरिवारको छ ।
कर छलिकै अभियोगले कारागार
दैनिक हातमुख जोर्न समेत धौधौ पर्ने विपन्न नागरिकहरू कसैको सानो प्रलोभनमा सजिलै बहकिन सक्छन् । त्यसैगरी बहकिएका जीतपुरसिमरा ९ कै मुना चौधरी अहिले आफू संलग्न नै नभएको अपराधमा कारागारको जीवन कटाइरहनुभएको छ ।
किर्ते गरी उहाँको नाममा खोलिएको पंकजा ट्रेडर्स प्रालिका नाममा सरकारको तीन करोड, ३२ लाख ५७ हजार पाँच रुपैयाँ राजश्व छली अभियोग छ ।
तर यो घटनाक्रमबारे चौधरीले तब मात्रै थाहा पाउनुभयो, जब २०७७ पुस १८ गते (काठमाण्डौ गएको ६ वर्षपछि ) सोही अभियोगको मुद्दामाा उपस्थितिका लागि उच्च अदालतले पत्र काट्यो ।
हातमा पत्र पर्नासाथ न्यायका लागि बाबु त्रिलोकिनाथसँग दोस्रो पटक काठमाण्डौँ पुगेका मुना अहिले सोही अभियोगमा नख्खु कारागारमा दिन काटिरहनुभएको छ । उहाँका बाबु त्रिलोकी भने छोरोको रिहाइका लागि जनप्रतिनिधि र पत्रकार गुहारिरहनुभएको छ ।
सिङ्गो गाउँ एउटै पीडामा
महन्थ, राजेश र मुना यो चक्रव्यूहका प्रतिनिधि मात्रै हुन् । ४० घरपरिवारको बसोवास रहेको यो बस्तीका झण्डै आधा परिवार राज्यको नजरमा करोडौँ राजश्व छली गरेर फरार अभियुक्तको सूचिमा छन् ।
जीतपुर सिमरा ९ का वडा अध्यक्ष प्रभुनाथ प्रसाद चौधरीका अनुसार बाहिर आउन बाँकी रहेका यस्ता अझैँ धेरै उदाहरणहरू विपन्न बस्तीमा लुकिरहेका छन् ।
‘यी गाउँलेहरू त म बच्पनदेखि चिन्छु, उनीहरूले ठग्छन् भन्ने विश्वास मलाई छैन । चौधरीले भन्नुभयो, ‘सरकारले व्यावहारिक भएर अनुसन्धान गर्नुपर्छ । नत्र यहाँका अधिकांस गरिब कारागार पुग्ने अवस्था आउनसक्छ ।’
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७, १४:१०