‘प्रदेशबाट बालबालिका सम्बन्धित कानुन बनिसकेको छ, महिला शशक्तिकरण सम्बन्धि कानुन पनि निर्माण भयो अब बालविवाह पूर्ण रुपमा अन्त्य गर्ने गरी कानुन बनाउने क्रममा सरकार रहेको छ’ मन्त्री यादवले भन्नुभयो ।
जनकपुर । प्रदेश नम्बर २ सरकारले बालविवाह लगाएतका हानीकारक परम्परागत अभ्यास अन्त्यका लागि प्रतिबद्धता जनाएको छ । आज प्रदेश २ को राजधानी जनकपुरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब, सीआईएन र वल्ड भिजनको सहकार्यमा भएको बालविवाह लगायत हानिकारक परम्परागत अभ्यास बिरुद्ध सरोकारवालाबीचको प्रदेश स्तरिय हातेमालो कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सबै खाले कुरीति अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
बालविवाह अन्त्यका लागि राज्यलाई निजि क्षेत्र र नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्ने उहाँले बताउनुभयो । प्रदेश २ सरकार जातिय विभेद, लैङ्गिक विभेद तथा सबै खालका विभेदहरु अन्त्यका लागि प्रतिबद्ध मन्त्री यादवको भनाई छ । बालविवाह अपराध भएको भन्दै उहाँले यसलाई पूर्ण रुपमा अन्त्य गर्नको लागि सरकारले कानुन निर्माण गर्ने गरी काम गरिरहेको पनि बताउनुभयो । ‘प्रदेशबाट बालबालिका सम्बन्धित कानुन बनिसकेको छ, महिला शशक्तिकरण सम्बन्धि कानुन पनि निर्माण भयो अब बालविवाह पूर्ण रुपमा अन्त्य गर्ने गरी कानुन बनाउने क्रममा सरकार रहेको छ’ मन्त्री यादवले भन्नुभयो । बालविवाह अन्त्यका लागि सरकारले बिभिन्न योजना तथा कार्यक्रमहरु चलाइरहेको जानकारी दिंदै उहाँले नीति तथा कार्यक्रममा नै हानीकारक अभ्यास हटाउने नीति लिएको बताउनुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेशसभाका प्रमुख सचेतक परमेश्वर शाहले बालविवाह लगाएत अरु कुरिति अन्त्यका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेशसभाबाट बालबालिका सम्बन्धि कानुन बनिसकेको भन्दै उहाँले बालबालिकाको हक कार्यान्वयनको लागि थप गम्भिर हुनुपर्ने पनि बताउनुभयो । बालविवाह अन्त्यका लागि शिक्षा र चेतनाको आवश्यक रहेको भन्दै उहाँले सबै मिलेर मात्रै यसलाइ सफल बनाउन सकिने धारणा राख्नुभयो ।
सामुदायिक सुचना नेटवर्क सीआईएनका म्यानेजर दीपक आचार्यले बालविवाह लगाएत हानीकारक परम्परा अन्त्यका लागि सञ्चार अभियान महत्वपूर्ण हुने र त्यसमा सरकार, धर्म गुरु र सरोकारवाला सबैको साथ आवश्यक रहेको बताउनुभयो । यस्ता हानिकारक अभ्यासहरु देशबाट पूर्ण रुपमा हटाउको लागि सीआईएन र सामुदायिक रेडियोहरुले अभियान नै सुरु गरेको उहाँको भनाई छ । आचार्यले धर्मगुरुहरु मार्फत रेडियो कार्यक्रम तयार गरी समुदायमा कुरीति बिरुद्धको सन्देश फैलाउने काम गरिरहेको बताउनुभयो ।
मुस्लिम धर्मका गुरु अब्दुल रहिम मिकरानीले साेंचमा परिवर्तन ल्याई छोरीहरुलाई निरन्तर रुपमा शिक्षामा जोड्न सकेको खण्डमा बालविवाह अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश २ सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य रानी कुमारी तिवारीले प्रदेश २ मा अझै पनि शिक्षा र चेतनाका अभाबका कारण बालविवाहका रोकिन नसकेको बताउनुभयो । किशोरीहरुलाई पर्याप्त शिक्षा दिन सकेको खण्डमा बालविवाह बिस्तारै अन्त्य हुँदै जाने उहाँको भनाइ छ । समितिले विभिन्न कोण र तहबाट बालविवाह अन्त्यका लागि छलफल, पैरवी र कानुन निर्माणको काम गरिरहेको पनि तिवारीले जानकारी दिनुभयो । प्रदेश सरकारबाट चलेको ‘बेटी पढाउ बेटी बचाउ’ छोरी बीमा लगाएत कार्यक्रमले पनि बालविवाह अन्त्य र किशोरीहरुको क्षमताबृद्धिमा सहयोग पुराएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सांसद मञ्जु यादवले बालविवाह उन्मुलन गर्ने हो भने अभिभावक र नातेदारहरुलाई सचेतना बढाउने गरी कार्यक्रमहरु तयार गर्नुपर्ने बताउनुभयो । बालविवाह अन्त्यका लागि छोरा र छोरीबीचमा समान शिक्षा र स्वास्थ्यको आवश्यकता रहेको धारणा राख्दै यसमा आफु नै गम्भिर हुनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बिभिन्न धर्मका धर्म गुरुहरुले पनि बालविवाह अन्त्यको लागि प्रतिवद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि आफुहरुको सामुहिक नेतृत्व आवश्यक पर्ने उनीहरुले बताएका छन् ।
कार्यक्रममा मुस्लिम धर्मका गुरु अब्दुल रहिम मिकरानीले साेंचमा परिवर्तन ल्याई छोरीहरुलाई निरन्तर रुपमा शिक्षामा जोड्न सकेको खण्डमा बालविवाह अन्त्य गर्न सकिने धारणा राख्नुभयो । हाल इन्टरनेटको कारणले पनि आफैं बालविवाह गर्ने क्रम बढेको भन्दै उहाँले सचेतना र जिम्मेवार अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यालय तहमा र विशेष गरी ग्रामिण स्थानहरुमा पनि यस्ता खालका चेतनामूलक कार्यक्रम चलाउनु पर्ने उहाँको धारणा थियो । २०६८ को अध्ययन अनुसार नेपालमा ४१ प्रतिशत बालविवाह रहेको बताउँदै उहाँले यसको दर अहिले केही घटेको भएपनि कम भने नभएको बताउनुभयो । बालविवाहको मुख्य कारण अशिक्षा नै भएकाले यसलाई अन्त्य गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।
कार्यक्रममा इसाइ धर्मका पाष्टर दिनेश रायले बालविवाह रोक्नको लागि धर्मगुरुहरुका बीचमा एक मत भएर मात्रै नपुग्ने सरकारी तवरबाट कानुन कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो । बालविवाह घटाउनको सबैभन्दा पहिले दाइजो प्रथा घटाउनुपर्ने र त्यसको लागि शिक्षाको आवश्यकता रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा धर्मगुरु अनिसु रहमानले पनि बालविवाह हटाउनको लागि प्रदेश २ मा विद्यमान रहेको दाइजो प्रथा कम गराउनुपर्ने धारणा राख्नुभयो ।
प्रादेशिक बालक्लबका अध्यक्ष आसुतोष झाले बालविवाह अन्त्यका लागि बनेका कानुनहरु कार्यान्वयन नभएकोमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा अधिकारकर्मी सुभद्रा आलेले जनचेतना र शिक्षा प्रवाह गर्दै बालविवाह अन्त्य गर्न सकिने र यसको लागि आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बालअधिकारकर्मी, अधिकारकर्मी, मानबअधिकारकर्मी, प्रदेशसभाका सांसदहरु तथा प्रदेशका सामुदायिक रेडियोका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले बालविवाह अन्त्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७, १६:४९