काठमाडौँ । लैङ्गिक हिंसामा परेका महिलाहरूमध्ये ३५ प्रतिशतमा गम्भीर प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको एक अध्ययनले देखाएको छ ।
मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्था मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर, काठमाडौँ अनि सिन्धुली र उदयपुर जिल्लाका हिंसामा परेका महिलाहरूमाझ अध्ययन गरेको थियो ।
अध्ययनले ८८ प्रतिशत महिलाले कुनै न कुनै प्रकारको डिप्रेसन अर्थात उदासिनताको समस्या व्यक्त गरेको उल्लेख गरेको छ ।
‘अध्ययनका क्रममा ७ दशम्लव ३ प्रतिशत महिलाले मनमा जहिल्यै आत्महत्याको सोँच आउने गरेको बताएका छन् । यो भनेको राम्रो सङ्केत होइन ।’ सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोविद् डा पशुपति महतले भन्नुभयो, ‘ आत्महत्याको सोँच आउनुमा उनीहरूको मानसिक तनाव कारक हो, यसको उपचार सम्भव छ । समस्यामा रहेका हिंसा प्रभावित महिलाका लागि तीनै तहका सरकारले तत्काल उपचार तथा मनोविमर्शको व्यवस्था गर्नुपर्ने देखिन्छ ।’
लैङ्गिक हिंसामा परेकामध्ये ५१ देखि ६० वर्षका महिला आत्महत्याको जोखिममा रहेको पनि अध्ययनले देखाएको छ । ५ जिल्लाबाट बिभिन्न ९ वटा आश्रयस्थल र प्रहरीको संरक्षणमा रहेका ३ सय जना हिंसा प्रभावित महिलाहरूको अनुभवका आधारमा अध्ययन गरिएको थियो ।
हिंसामा पर्नेमा जनजाति समुदायका महिला धेरै रहेको र उनीहरू नै बढी मानसिक स्वास्थ्य समस्यामा रहेको पाइएको अध्ययनले देखिाएको छ ।
अध्ययनक लागि छनौट गरिएका महिलाहरू १५ देखि १८ वर्षका २६, १९ देखि ३० वर्षका १ सय ४१, ३१ देखि ५० वर्षका १ सय १८ र ५१ देखि ६० वर्षका १५ जना रहेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७, ०९:४२