काठमाडौँ । सरकारले नेपाल अण्डा, मासु र माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । पशु तथा पन्छीजन्य उत्पादनमा लाग्ने किसानको सङ्ख्या बढेसँगै आत्मनिर्भरको लक्ष्य प्राप्त गर्न सजिलो भएको सरकारको बुझाइ छ ।
नेपालमा कुल ३८ लाख किसानमध्ये ३६ लाखले पशुपन्छी पाल्छन् भने डेढ लाख किसानले व्यावसायिक पशुपालन गरिरहेका छन् । यसबाट कृषिजन्य उत्पादन करिब १० प्रतिशतले बढीरहेको छ ।
आत्मनिर्भर भएको मान्नका लागि हरेक नागरिकले वर्षभरिमा ४८ वटा अण्डा, १४ किलो मासु र ५१ लिटर दूध खान पाउनुपर्ने मापदण्ड विश्व खाद्य तथा कृषि सङ्गठनको छ । नेपालको अहिलेको उत्पादन अनुसार एक जनाका लागि वर्षभरिमा ५५ वटा अण्डा, झण्डै २२ किलो मासु र ७९ लिटर दूध भाग पुग्छ ।
त्यसकै आधारमा मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा पेमनारायण कँडेल बताउनुहुन्छ ।
‘दुधको पाउडर उत्पादनमा आत्मनिर्भर भइ आयात प्रतिस्थापन भएको छ भने कच्चा दूधमा आत्मनिर्भरउन्मुख भएका छौँ ।’ सचिव कँडेलले भन्नुभयो, ‘पशुपन्छीमा लाग्ने प्रमुख रोगहरूको भ्याक्सिन नेपाल आफैँले उत्पादन गर्छ । ती भ्याक्सिनमा नेपाल पूणर् आत्मनिर्भर भइ निर्यात गर्ने तयारी गरिरहेको छ ।’
नेपालमा ३ सय २० भन्दा बढी ह्याचरी उद्योग सञ्चालनमा छन् । यी उद्योगबाट एक हप्तामा ५५ लाख ब्रोइलर चल्ला र ३ लाखभन्दा बढी लेयर्स जातको चल्ला उत्पादन हुने गरेको छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा पशुजन्य तथा मत्स्य क्षेत्रको योगदान १३ दशमलव ५ प्रतिशत रहेको छ । स्थिर सरकार र लगानीको सुरक्षित महसुस गरेका कारण कृषिजन्य उत्पादन र लगानी बढिरहेको सरकारको दावी छ ।
अबको दुई वर्षमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने योजना कार्यान्वयनको काम भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्याल । ‘अबको पाँच वर्षमा कृषि तथा पशुपन्छीका सबै क्षेत्रमा आत्मनिर्भर बन्ने मात्रै होइन ठूलो सङ्ख्यामा निर्यात गर्ने गरी उत्पादन बढाउन पञ्चवर्षीय योजना बनाएका छौँ ।’ मन्त्री अर्यालले भन्नुभयो, ‘हामी दिन गनेर काम गछौँ । हरेक वर्ष यति उत्पादन गर्ने, त्यसमा देशभित्र चाहिने यति र बाँकी निर्यात गर्ने भन्ने ढङ्गले जाने गरी योजना अबको आर्थिक वर्षको कार्यक्रममा बजेटसहित आउँछ ।’
दूधमा पनि आत्मनिर्भर भएको घोषणा गर्ने तयारी सरकारको छ । अहिले नेपालमै धुलो दूधको उत्पादनसमेत भइरहेको छ ।
दूधबाट वैकल्पिक उत्पादन गर्नका लागि सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ ५ । ‘मिल्कमा पनि होलिडे कहीँ हुन्छ ? भैँसीले गाईले शनिबार अथवा विदाको दिन कसरी थाहा पाउने ?’ उहाँले भन्नुभयो, ‘मिल्क होलिडे भनेको त धेरै भएको न हो हामीलाई । धेर भएपछि किसानलाई पोख भनेको न हो ।’
प्रधानमन्त्री केपी शर्मा ओली । दूधको उत्पादन बढेसँगै त्यसको खपत बढाउन सरकार प्रतिबद्ध रहेको तर मिल्क होलिडे हुन नदिने प्रधानमन्त्रीको दावी थियो ।
‘मैँले भनेको छु दूधको उत्पादन धेरै भयो भने धुलो दूध बनाउनुस् । सबै यहाँ खपत हुँदैन भने निर्यात गरौँ ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘दूधबाट बनेको चकलेट स्वीट्जरल्याण्डले मात्रै किन बनाउने ? हामीले यही हिमालयन चकलेट, माछापुच्छ्रे चकलेट, धौलागिरी चकलेट, एभरेष्ट चकलेट किन नबनाउने ?’
देशलाई मासु, अण्डा र माछामा आत्मनिर्भर भएको भनिए पनि आगामी दिनमा यसलाई निरन्तरता दिँदै उत्पादन बढाउने र निर्यात गर्ने क्षमता बनाउन भने सरकार र सरोकारवाला निकायलाई धेरै चुनौती देखिन्छ ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७, १६:०३