काठमाडौँ । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिको लागि हिजो भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो ।
नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भएको हो । सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो ।
उक्त हारको बदला समेत नेपालले पूरा गरेको छ । प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एकएक गोल गर्नुभयो । सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाउनुभयो ।
सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गर्नुभयो । थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको छ । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो ।
सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल हुनुभयो ।
विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–० ले हराए यता कुनै गोल गर्न सकेको थिएन । पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो ।
८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो । ८१ औं मिनेटमा विशाल राईलाई छीरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७, ०७:४७