जनकपुर । जनकपुर उपमहानगरपालिकाबाट १८ किलोमिटर उत्तरमा पर्छ, मिथिला नगरपालिका । मिथिलाको एउटा गाउँ हो हरिहरपुर । जहाँ पिउने पानीको मुख्य स्रोत हो इनार ।
‘हम सब सबदिन इनारेके पानी पिबैछी । कलके या आरो किछो स पानी लाबि क केना पियै है से नै मालुम हब । अर्थात् हामी सबै जना सधैँ इनारकै पानी पिउँछौँ । कलको पानी वा अरु कुनै पानी कसरी खाने हामीलाई थाहा छैन ।’ यो भनाइ हो, उर्मिला देवीको ।
उहाँ उमेरले ६५ कट्नुभयो । विवाह गरेर हरिहरपुर आएको ५० वर्षभन्दा बढी भइसक्यो । बिहे गरेर आएदेखि इनारकै पानी पिउँदै आउनुभएको छ उहाँ । घरमा खाना पकाउने, पिउने, नुहाउनेदेखि सबै प्रयोजनका लागि उहाँ इनारकै पानी प्रयोग गर्दै आउनुभएको छ । ‘इनारको पानी पिएरै होला सायद बिरामी पनि हुन्छु । पेटपनि दुःख्छ । तर, इनारको पानी पिउनुबाहेक अरु विल्कप छैन ।’ उर्मिलाले सुनाउनुभयो ।
पानी पिउनका लागि होस् या अन्य कुनै प्रयोजनका लागि इनारकै पानी प्रयोग गरिन्छ यस गाउँमा । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा हरेक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरिएको छ ।
तर, धनुषाको हरिहरपुर गाउँका झन्डै ६ हजार नागरिक वर्षौँखि इनारको दुषित पानी पिउन बाध्य छन् ।
‘इनारको पानी फोहोर हुन्छ । यो पानी खानु हुँदैन भनेर सबैले बुझेका पनि छन् । तर, शुद्ध खानेपानी कहाँबाट आउँछ ? त्यसकारण यही पानी खाने हो । ’, कुश्मीदेवी महतोले भन्नुभयो ।
‘इनार छोपेको हुँदैन । वर्षा हुँदा वा अन्य समय पनि हावा चल्दा सबै फोहोर इनारमा जान्छ । त्यही पानी पिउँछौँ । पेट दुःख्छ । बिरामी हुन्छौँ । तर, विकल्प छैन ।’ महतो सुनाउनुहुन्छ ।
विवाह गरेर हरिहरपुर पुगेका महिलाहरू मात्रै होइन जन्मथलो नै हरिहरपुर रहेकाहरूले पनि आजसम्म शुद्ध खानेपानी पिउन पाएका छैनन् ।
६० वर्ष कटिसक्नुभएका मुजिबुल अन्सारीलाई इनारको पानी पिउने बानी परिसक्यो । बानी परेकै कारणले होला, उहाँ बिरामी हुँदा पनि पानीको कारण बिरामी भएँ भनेर कहिले सोच्नु हुन्न ।
मुजिबुलका अनुसार २० वर्ष अघिसम्म गाउँमा खानेपानीका लागि एकाध कलहरू थिए । तर ती फागुन लाग्नासाथ सुक्दै गएपछि गाउँलेहरूले कलका गाड्ने रहर नै छोडे । वैशाख, जेठमा बढ्ने गर्मीभन्दा पनि पहिले नै कल सुकेपछि पिउने पानीको हाहाकार हुन थालेपछि मानिसहरू इनारकै पानीमा भर पर्न थाले ।
६७ वर्षका मरनी देवी महतोले पनि आजसम्म शुद्ध पानी पिउन पाउनुभएको छैन । ९ जनाको परिवारलाई पिउने पानीको त खासै दुख छैन । तर सरसफाइका लागि आवश्यक पानीका लागि कहिलेकाँही हप्ता दिनसम्म कुर्नुपर्छ ।
‘कहिलेकाहीँ इनारको पानी पिउन पनि ३/४ दिन पनि कुर्नुपर्छ । अहिलेको फागुन, चैतको समय त ठीकै छ । लोडसेडिङ्ग हुँदा वा कुनै समय लामो समयसम्म बिजुली नुहँदा त्यो इनारकै पानी पिउन पनि समस्या हुन्छ ।’ मरनीदेवी थप्नुहुन्छ ।
उहाँले अहिले त पहिलेको भन्दा धेरै सहज भएको भन्दै बेलाबेला समस्या हुने गरेको बताउनुभयो । बिरामी हुने, फोहोर पानी आउने समस्या त हुन्छ नै । भएको पानी पनि चाहिएको समय झिक्न नपाउँदा कसरी काम हुन्छ भन्ने चिन्ताले पनि उहाँलाई बेलाबेला सताउने गर्छ ।
खानेपानीका लागि प्रयोग हुने कल सुकेपछि सरकारी तहबाटै टोलटोलमा इनार बनाइयो । तर इनारको पानी खान योग्य नभएकाले गाउँलेहरू बिरामी हुने गर्छन् । दुषित पानीकै कारण आफू बिरामी भएँ भनेर कसैले पत्तो पाउँदैनन् । किन कि वर्षौँदेखि त्यही इनारको पानी खाएर केही भएन आज के हुन्छ र ? भन्ने धारणा मानिसहरूको बनिसकेको छ ।
नागरिकलाई पानीको अभाव नहोस् भनेर अहिले ४ देखि ५ घरधुरीलाई एउटा इनार बनाउन थालिएको छ । तर इनार बनाएर शुद्ध खानेपानी अभावको समस्या समाधान हुने अवस्था छैन । त्यसका लागि स्थानीय सरकारले पनि योजना बनाएको छ ।
प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुर सदरमुकामबाट १८ किलोमिटरको दुरीमा रहेको मिथिला नगरपालिका वडा नम्बर ३ मा पर्ने हरिहरपुर गाउँसम्म बाटो पनि पुगिसकेको छ ।
घरघरको सरकार पनि छ । तर, त्यहाँका नागरिकले अझैसम्म पनि शुद्ध पानी पिउन पाएका छैनन् ।
‘स्थानीय सरकार गठन भएको साढे ३ वर्षभन्दा बढी बितिसके पनि नागरिकले शुद्ध खानेपानी पिउन पाएका छैनन् नि ? ’ यो प्रश्नमा वडाअध्यक्ष राम एकवाल महतोले अबको केही समयमै उनीहरूले शुद्ध खानेपानी पिउन पाउँछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
सीआईएनसँगको कुराकानीमा वडाध्यक्ष महतोले सकेसम्म ‘एक घर, एक इनार’ र खानेपानीका लागि धाराको व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारसँगको समन्वयमा दुई ठूला ट्याङ्की बनिसकेको र आगामी आर्थिक वर्षको सुरुसम्म सबैले शुद्ध खानेपानी पिउने वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सरकारले नेपालका ९५ प्रतिशत नागरिक खानेपानीको पहुँचमा रहेको दावी गरेको छ । तर खानेपानीको पहुँचमै भएका थुप्रै नागरिक पनि शुद्ध खानेपानी पिउन पाउने अवस्थामा भने छैनन् ।
धनुषाको हरिहरपुर मात्रै होइन, नेपालका अधिकांश गाउँका मानिसहरूको पहुँचमा शुद्ध खानेपानीको पहुँच नहुँदा बर्सेनि मानिसहरू विभिन्न रोगबाट प्रभावित हुने र अकालमै मृत्युवरण गर्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७, १९:५८