काठमाडौँ । बालविवाह लगायत हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि सार्वजनिक यातायातका साधनमा बजाउनका लागि अडियोसहितको पेन्ड्राइभ वितरण सुरु गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र सामुदायिक सूचना नेटवर्क (सीआइएन) ले पेनड्राइभ वितरण गरेको हो ।
लामो दुरीमा चल्ने यातायातका साधनलाई केन्द्रित गरी सन्देशमुलक सामग्रीसहितको अडियो र भिडियो सामग्रीसहितका २ सय वटा पेनड्राइभ वितरण गरिएको सीआइर्एनका प्रमुख दीपक आचार्यले जानकारी दिनुभयो ।
काठमाण्डौँबाट देशका सबै जिल्लामा छुट्ने यातायातका साधनहरूमा सन्देश पुर्याउने काम भएको आचार्यले बताउनुभयो । ‘केही यातायात व्यवसायीसँग पनि समन्वय भइरहेको छ । हामीले बालविवाह न्यूनीकरणको सन्देश प्रवाहका लागि यातायात क्षेत्रलाई रोजेका छौँ ।’ आचार्यले भन्नुभयो ।
सन्देश समावेश गरिएको पेनड्राइभ पाएपछि चालकहरू भने खुसी भएका छन् । उनीहरूले प्राप्त भएका सन्देश तथा भिडियो नियमित रूपमा बजाउने र यात्रुहरूलाई सचेत गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
चौतारी यातायातको बा ५ ख ६५७० नम्बरका चालक केबल तामाङले गीतसँगै बालविवाह सम्बन्धीको सन्देश बजाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
‘गीतसहित बालविवाह विरुद्धको सन्देशमुलक सामग्री भएको पेनड्राइभ पाएको छु । गीत पनि सुन्न पाइयो, सन्देश पनि सुन्नसुनाउन पाइयो ।’ उहाँले भन्नुभयो, ‘यसरी सन्देशसहितको भिडियोसहितको पेनड्राइभ पाएको पहिलो पटक हो । गीतसँगै यी सन्देश म सधैँ बजाउँछु । बालविवाहका विषयमा यात्रुहरूले भिडियोमार्फत जानकारी लिनेछन् ।’
महाकाली यातायातको ना ६ ख ७४४३ नम्बरको बसका चालक पुष्कर भट्टले पेनड्राइभ दिएकोमा सीआइएनलाई धन्यवाद दिनुभयो । ‘लामो यात्राको रात्रीबस भएकोले यात्रुहरूलाई मनोरञ्जन दिनका लागि भिडियोहरू बजाउँथ्यौँ ।
बालविवाहसम्बन्धी सन्देशसहितको भिडियो भएको पेनड्राइभ पायौँ ।’ उहाँले भन्नुभयो, ‘१६ जीबी क्षमता भएको पेनड्राइभ रहेछ । खाली भएको ठाउँमा अरु गीतहरू भरेर बजाउँछौँ ।’
हिल्सा यातायातको ना ७ ख ५७२९ का चालक सुशील सोतीले भिडियो र सन्देश मिलाएर पेनड्राइभ पाइएकोमा पेनड्राइभ किन्ने र गीत भर्ने रकम बचत भएको बताउनुभयो ।
‘गाडीमा यात्रुहरूलाई अल्छी लाग्छ भनेर रात्रीबसमा भिडियो बजाइरहन्छौँ । अहिलेसम्म सन्देशहरू त बजाएका थिएनौँ ।’ उहाँले भन्नुभयो, ‘भिडियो र बालविवाहसम्बन्धी सन्देश भएको पेनड्राइभ पाएपछि हामीलाई पेनड्राइभ किन्ने र भिडियो भर्ने रकम बचत भएको छ ।’
१६ जिबिको पेनड्राइभ खरिद तथा भिडियो र सन्देशहरू कपी गर्नका लागि एउटाको एक हजार रुपैयाँ खर्च भएको छ । बाँकी एकसय ५० वटा पेनड्राइभ यातायात व्यवसायी तथा चालकहरूसँग समन्वय गरी छिट्टै वितरण गरिने सीआइएनका प्रमुख दिपक आचार्यले जानकारी दिनुभयो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालले सुदुरपश्चिम र प्रदेश २ का विभिन्न जिल्लामा बालविवाह लगायतका हानिकारक परम्परागत अभ्यास अन्त्यको विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७, १५:५३