पोखरा । अनुभव र सिकाइ आदानप्रदान गर्नका लागि मुलुकभरका पालिका प्रमुहरू पोखरामा भेला भएका छन् ।
स्थानीय तहहरूले विगत चार वर्षमा गरेका कामको संयुक्त समीक्षाका लागि पोखरा महानगरपालकिाको आयोजनामा पालिका प्रमुखहरूको सम्मेलन आजबाट सुरु हुन लागेको हो ।
पोखरा महानगरपालिका, सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेका अनुसार यो सम्मेलनले स्थानीयस्तरको विकासनिर्माण, सुशासन र पारदर्शीताको लागि पोखरा घोषणापत्र जारी गर्नेछ ।
आमुल रुपान्तरणको लागि आवश्यक पर्ने नीति, नियम, ऐन, कानुन, योजना तथा परियोजनाको पहिचान तथा साझा दृष्टिकोण निर्माणमा योगदान दिन सम्मेलन फलदायी हुने उपाध्यक्ष लामिछानेले बताउनुभयो ।
सम्मेलनले दिगो विकासका लक्ष्यहरूलाई स्थानीयकरण गरी स्थानीय स्रोतसाधन, अन्तरपालिका, प्रदेश तथा सङ्घसँग सहकार्य गरी दिगो विकासका नमूना निर्माण गर्न साझा दृष्टिकोण निर्माण गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्मेलनको पहिलो दिन आज पोखरा घोषणापत्र जारी गर्ने बारेमा छलफल केन्द्रित हुनेछ भने भोलि मेयर साइकिल दौड प्रतियोगिता हुने भएको छ ।
स्थानीय वातावरण संरक्षणको प्रयासस्वरुप छोटो दुरीको दैनिक सवारी साधनको लागि साईकललाई प्रवर्धन गर्ने उद्धेश्यले नयाँ वर्षको दिन पारेर मेयर साइकल प्रतिस्पर्धाको आयोजना गरिएको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
कम्तिमा ३ सय पालिका प्रमुखहरूको सम्मेलनमा सहभागिता रहने अपेक्षा आयोजक पोखरा महानगरपालिकाले गरेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७, ०८:५७