काठमाडौँ । सरकारले नेपालमा नोबेल कोरोना भाइरसको सङ्क्रमण दर उच्च हुँदै गएको निष्कर्षसहित सावधानी अपनाउन विशेष अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले आज एक विशेष अपिल जारी गर्दै कोरोना अति प्रभावित जिल्लाको सूची पनि सार्वजनिक गर्नुभएको हो ।
काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लाको सूचीमा परेका छन् ।
यी जिल्लाका विद्यालयमा बालबालिकालाई नपठाउनसमेत आग्रह गरिएको सहप्रवक्ता डा अधिकारीले सीआइएनसँग बताउनुभयो ।
निजी प्रयोगशाला तथा अस्पतालहरुले कोभिड १९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क (२ हजार) रुपैयाँ नबढाइ तथा सङ्क्रमितहरूको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशतभन्दा नबढ्ने गरी उपचार व्यवस्था मिलाउन मन्त्रालयले अनुराधे गरेको छ ।
सूचनामा नेपालमा विभिन्न होटलहरूमा आइ बसोबास गर्ने विदेशी नागरिकहरूको दर्ता प्रक्रिया चुस्त बनाइ काम गर्न तथा पीसीआर नतिजा नेगेटिभ आएमा मात्र होटलमा राख्न भनिएको छ ।
नेपालमा बितेको २४ घण्टामा भने ५ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १ सय ५७ जना कोरोनामुक्त भएका छन् ।
योसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ । देशभर ४ हजार ३ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ ।
योसँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८, २०:०२