रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र जम्मा ४२ वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले यहि आर्थिक वर्षबाट विद्यालयमा किशोरीहरुलाई महिनावारीका बेला चाहिने सेनेटरी प्याडको निशुल्क व्यवस्था गरेको छ । विद्यालयमा चर्पी पनि छ । सेनेटरी प्याडको व्यवस्था पनि छ । पानी पनि प्रर्याप्त छ । तर हात धुने साबुन छैन । सोही कारण किशोरीहरुलाई महिनावारी भएका बेला सरसफाई गर्न अप्ठ्यारो पर्छ ।
चर्पिमा पानी छ, प्याड पनि छ, तर हात धुने साबुन छैन । जसले गर्दा सफा नहुने डरले किशोरीहरु प्याड नै नफेरि बस्छन् ।
तिलोत्तमा नगरपालिका ५ को शान्ति नमूना माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययन गर्ने श्रृष्टि खरेललाई महिनावारी हुँदा विद्यालय छोडेर घर जानुपर्ने बाध्यता छैन । अचानक विद्यालयमै महिनावारी भइहाल्यो भने पनि सेनेटरी प्याड खोज्दै विद्यालय बाहिर जानुपर्दैन ।
विगत चार वर्षदेखी शान्ति नमूना माविले त्यहाँ अध्ययनरत छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । जसले गर्दा किशोरीहरुलाइ सजिलो भएको छ । तर शौचालय जाँदा सरसफाइका लागि चाहिने हात धुने साबुन छैन । चर्पिमा पानी छ, प्याड पनि छ, तर हात धुने साबुन छैन । जसले गर्दा सफा नहुने डरले किशोरीहरु प्याड नै नफेरि बस्छन् ।
तिलोत्तमा ९ को गौतमबुद्ध माविले पनि २०७२ सालदेखी छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । योसँगै महिनावारीको समयमा किशोरीहरुको पठनपाठनमा सहयोग पुगेको छ । तर शौचालयमा हात धुने साबुन नहुँदा सरसफाइमा समस्या भएको कक्षा १० का किशोरी निशा राना बताउनुुहुन्छ ।
अहिले तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्रका जम्मा ४२ वटा सामुदायिक विद्यालयहरुका लागि निशुल्क सेनेटरी प्याड वितरणको जिम्मा आफैंले लिएको छ । यो व्यवस्थासँगै एकातिर किशोरीहरु बीचमै पढाई छोड्नुपर्ने समस्याबाट मुक्त भएका छन् । तर अर्कोतिर विद्यालयको शौचालयमा हात धुने साबुनको व्यवस्था नहुँदा किशोरीहरु स्वास्थ्यप्रति चिन्तित देखिएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५, १५:१४