काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड माथि एक पक्षिय जित निकालेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको सिरिजको पहिलो खेलमा नेपाल ९ विकेटले विजयी भयो । टस जितेर पहिले बलिङ रोजेको नेपाललाई नेदरल्याण्ड्सले १ सय ३७ रनको लक्ष्य दिएको थियो ।
नेदरल्याण्ड्सले सुरुवात राम्रो गर्न सकेन । उसको स्कोर ११ रन हुँदा नेपालले पहिलो विकेट लिएको थियो । उसका ओपनर म्याक्स ओडोड सन्दिप लामिछानेको बलमा १० रनमा आउट हुनुभयो । त्यसपछि डच टिमको स्कोर १२ रन हुँदा दोस्रो विकेट झरेको थियो । नेपालका लागि त्यो विकेट सोमपाल कामीले लिनुभएको थियो ।
तेस्रो विकेटका लागि बाड डी लिड र कप्तान पिटर सेलारले ६१ रनको साझेदारी गरेको थिए । तर यो खेलबाट अन्तराष्ट्रिय टी २० क्रिकेटमा डेब्यु गरेका साहब आलमले यो पार्टनरसिपलाई तोड्न सफल हुनुभयो । साहबले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिनुभयो ।
नेदरल्याण्ड्सको स्कोर ९९ रन हुँदा चौथो विकेट झरेको थियो । सन्दिप लामिछानेले बास डी लिडलाई ४१ रनमा कुशल भुर्तेलको हातबाट क्यान आउट गराउनुभयो ।
त्यसपछि कप्तान पिटर सेलारले २२ रन बनाउनुभयो भने एन्टोनिउस स्टालले २० रनको योगदान गर्नुभयो ।
बलिङमा सन्दिपले दुई विकेट तथा साहब आलम र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो ।
जवाफमा नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखबीच टी–२० क्रिकेटमा एक सय १६ रनको कीर्तिमानी साझेदारी हुँदा नेपालले सहज जित निकालेको हो । दुबैले ओपनरले डेब्यु खेलमै अर्धशतक बनाउन सफल भए ।
यो क्रममा कुशलले ६२ रन बनाउनुभयो भने आशिफले पनि ३६ बलमा चार चौका र चार छक्काको मद्दतले अर्धशतक पुरा गर्नुभयो । कप्तान कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहनुभयो । अब नेपालले सोमबार मलेसियासँग खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८, १७:३५