काठमाडौँ । दुर्गा भवानीको उपासना गरी आज चैते दसैँ मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।
यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ ।
चैतेदसैँका दिन काठमाडौँको जमलमा सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथयात्रा सुरु हुँदैछ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथयात्राको सम्पूणर् पूर्वतयारी सम्पन्न भएको जानकारी दिनुभयो ।
कुनै किसानले जमिन खन्दा जमल तीनधारामा आर्यावलोकितेश्वर भेटिएको र राजा गुणकामदेवले केलटोलस्थित कनक चैत्य महाविहारमा बुद्धको पश्चिमतर्फ राख्ने आदेश भएको वंशावलीमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८, १०:०३