काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टीट्वान्टी प्रतियोगितामा लिग खेलको विजेता हुँदै नेपाल फाइनलमा पुगेको छ । नेपालले मलेसियालाई लिगको अन्तिम खेलमा आज ६९ रनले पराजित गरेको छ । अब नेपालले पर्सि हुने फाइनल खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।
मलेसिया बिरुद्धको खेल अघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई हराएको हो । नेपालले चार खेलबाट ६ अङ्क जोडेको छ ।
लिगमा नेदरल्याण्ड्स बिरुद्धको एक खेलमा हार बेहोरे पनि पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले मलेसिया बिरुद्धको दुबै खेलमा पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा मात्र १४८ रन जोडन सक्यो । विशाल लक्ष्य पछ्याउने क्रममा १५ रनमै दुई विकेट गुमाएको मलेसियाले खेलमा फर्कन सकेन ।
मलेसियाको पारीमा अमीनुद्दीन राम्लेले मात्र १८ बलमा एक चौका र दुई छक्का लगाएर सर्बाधिक ४१ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन ।
कप्तान अहमद फैजले दोस्रो सर्बाधिक ३१ रन बनाउनुभयो । उहाँले २१ बलको सामना गर्दा चार चौका र एक छक्का लगाउनुभयो ।
नेपालको बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले सामान तीन तीन विकेट लिनुभयो । सन्दीपले चार ओभरमा ४२ रन खर्चिनुभयो ।
सोमपालले चार ओभरमा २० रन खर्चिदा कमल ऐरीले तीन ओभर एक बलमा १६ रन खर्चिनुभयो । सुशन भारीले तीन ओभरमा ३५ रन खर्चेर एक विकेट लिनुभयो । करण केसी विकेटविहीन बन्न पुग्नुभयो ।
दीपेन्द्रसिंह ऐरीले एक ओभर बलिङ गर्दा सात रन खर्चेपनि कुनै विकेट लिन सक्नुभएन । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले पुरा २० ओभर खेलेर सात विकेटको क्षतिमा २१७ रनको योगफल तयार गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८, १६:४७