काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रमा विशेष योगदान दिने श्रष्टाहरुको सम्मानमा गायक तथा सङ्गीतकार कन्हैया सिंहले गाउनुभएको गीत सार्वजनिक भएको छ ।
'जुन गीत सुनेर' बोलको गीत काठमाडौँमा आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । नेपाली सङ्गीत क्षेत्रमा २० वर्षभन्दा धेरै समयदेखि सक्रिय सिंहको शब्द तथा स्वर र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा यो गीत रेकर्ड भएको हो ।
गीतमा नारायण गोपाल, गोपाल योञ्जन, झलकमान गन्धर्व, तारादेवी, फत्तेमान, अम्बर गुरुङ, अरुणा लामा, गणेश परियार, मोतिराम भट्ट, लालबहादुर खाती, शिव शङ्कर लगायतका स्रष्टाको नेपाली सङ्गीतमा भएको योगदानलाई चर्चा गरिएको छ ।
नेपाली सङ्गीतका अमर श्रष्टाहरुको योगदानका बारेमा गीत गाउने तीन वर्षदेखिको सोँच र सपना आज पूरा भएको गायक सिंहले बताउनुभयो ।
यो कुनै सस्तो लोकप्रियता कमाउन नगरेको उल्लेख गर्दै सिंहले भन्नुभयो, ' यो सिर्जना मैले मेरो अन्तरआत्मादेखि नै गरेको छु । जुन अग्रजका गीत सुने, गुनगुनाएँ र प्रभावित भएर उहाँहरुको गीत गाउँदागाउँदै गायकको परिचय पनि बनाएँ । मेरो यो साङ्गीतिक प्रस्तुति सम्पूर्ण अग्रजहरुप्रति समर्पण भेट पनि हो ।'
गायक सिंहको स्वरमा रहेको यो गीत नेपाली गायन क्षेत्रमा सबैले गाउँदै आएको धारभन्दा फरक रहेको सङ्गीतकार श्रेष्ठको भनाइ छ ।
नेपाली सङ्गीतमा थोरै मध्येका केही कलाकारले मात्र अमर श्रष्टाको योगदानमा गीत गाएको भन्दै उहाँले यो गीत नेपाली सङ्गीत क्षेत्रले सधैँ सम्झनलायक बनेको टिप्पणी गर्नुभयो ।
गीतमा शुभबहादुर सुनामले सेक्सोफोन र मोहनकृष्ण ढली, नारायणदास कार्की ढली, केशव सुनाम, रविन कार्की ढली, किशोर कार्की ढली र विमल कार्की ढलीले भ्वाइलिनवादन गर्नुभएको छ ।
गीतमा ढोलक, तबला, मादल तथा कंगोमा कुमार महाराज तथा भुवन गन्धर्व, रिदम गिटारमा सचिन सिंह, बास गिटारमा अनुप दास, बाँसुरीवादनमा गोपाल देव तथा चेलोमा निषाद श्रेष्ठले साथ दिनुभएको छ । यो गीतको भिडियो निर्देशन हेम प्रभास अधिकारीले गर्नुभएको हो ।
गीत हेर्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८, ०९:५०