नेपालगञ्ज । कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेपछि बाँकेमा कम्तिमा २ सय बेड थप्नका लागि छलफल सुरु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले तत्कालका लागि खुल्ला कारागारको भवनमा कोभिडको उपचार गर्ने, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा वेड थप गर्ने विकल्पमा छलफल भइरहेको सीआईएनसँग बताउनुभयो ।
यसोहुँदा कम्तिमा २ सय वेड थप हुने र कोरोना सङ्क्रमितको उपचारमा केही राहत हुने उहाँको भनाइ छ । आज साँझसम्ममा यस बारेमा निर्णय हुने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो ।
हाल भेरी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि भेरीमा १ सय ४२ शय्या छुट्याइएको छ। यी सबै भरिएका छन्। अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार कोरोनाका बिरामीले अस्पताल भरिएपछि अक्सिजनको मात्रा कम भएका बिरामीलाई पनि घर पठाउनुपर्ने बाध्यता छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा. आसिम किदवाइले अस्पतालमा शय्या अभाव भएको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८, १२:५७