बाँके । बाँकेको नेपालगञ्जमा नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचार व्यवस्थित बनाउन २ सय शैय्या थप गर्ने निणर्य भएको छ ।
हिजो भएको निणर्य कार्यान्वयनका लागि आजदेखि तदारुक्ताका साथ काम सुरु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा शैय्या थप गर्ने, उपचारमा खटिने जनशक्ति प्रदेश र सङ्घ सरकारसँग माग गर्ने अनि आवश्यक पर्ने रकम जोहो गर्ने निणर्य भएको छ ।
हाललाई खुला कारागारको भवनमा आइसोलेसन सञ्चालन गर्ने निणर्य पनि भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निणर्यअनुसार भेरी अस्पतालमा यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि १ सय ४२ शैय्या रहेकोमा २ सय पुर्उने र मेडिकल कलेजमा १ सय शैय्या रहेकोमा बढाएर २ सय बनाउन पहल थालिएको छ ।
थप व्यवस्थापनका लागि काठमाडौँबाट टोली जाँदै
बाँकेमा कोरोना सङ्क्रमितको उपचारमा देखिएको समस्या र समाधानका बारेमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको विज्ञ टोली आज नेपालगञ्ज जाँदैछ ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीको नेतृत्वमा विज्ञ टोली त्यसतर्फ जान लागेको हो । आफूहरू पश्चिम नेपालमा २ हप्ता रहनेगरी नेपालगञ्ज जान लागेको डा लोहनीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार कोरोना सङ्क्रमितको उपचारमा देखिएको भौतिक, आर्थिक समस्या, सीमा नाकामा भएको जाँच र समस्या, जनशक्ति व्यवस्थापन लगायतका सबै पक्षमा विज्ञ टोलीले अध्ययन गरी आवश्यक निणर्य गर्नेछ ।
टोली बुटवल हुँदै नेपालगञ्ज जान लागेको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८, ०९:००