काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुख्यमन्त्रीहरुसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने ८ बजे सुरु भएको छलफल चलिरहेको छ । सातै प्रदेशका मुख्यमन्त्रीसँग आज प्रधानमन्त्रीले संयुक्त छलफल गर्नुभएको हो ।
मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले आउने वर्षको नीति, कार्यक्रम र बजेटका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा प्रधानमन्त्रीले प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण भएको धनजनको क्षतिका विषयमा पनि चासो राख्नुभएको बुझिएको छ ।
छलफलमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पोडेल सहभागी हुनुहुन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरु महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट प्रधानमन्त्रीसँग छलफलमा हुनुुहन्छ ।
भेटघाटमा प्रदेशको विकाससँगै संघीय सरकार र प्रदेश सरकारबीचको समन्वयका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५, ०८:४४