काठमाडौँ । चैत २८, २०७७ को गैँडा गणनाको नतिजा अनुसार नेपालमा गैँडाको सङ्ख्या ७ सय ५२ पुगेको छ । ६ वर्षको अवधिमा एक सय ७ वटा गैँडा थपिएका छन् ।
तर सोही अवधिमा विभिन्न कारणले एक सय ६४ वटा गैँडा मरेका छन् । जुन संरक्षणकर्मीका लागि चुनौतीको विषय बनेको छ । यस आर्थिक वर्षको नौ महिनामा चितवन राष्ट्रिय निकुञ्जभित्र २५ वटा गैँडा प्राकृतिक कारणले मरे भने चार वटा गैँडाको चोरी शिकारी भएको छ ।
गैँडा बूढो भएर, एकआपसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर लगायतका कारणले मर्ने गरेका छन् ।
प्राकृतिक कारणबाट मर्ने सङ्ख्या घटाउन निकुञ्जभित्रै गैँडाको ठाउँ परिवर्तन गराउने अर्थात स्थानान्तरणको तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउनुहुन्छ ।
राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा रहेका गैँडाहरूलाई पूर्वतिर सार्ने विषयमा विस्तृत अध्ययन भइरहेको र सम्भाव्यता देखिएमा बजेट कार्यक्रमसहित गैँडा स्थानान्तरणको काम अगाडि बढ्ने उहाँको भनाइ छ ।
‘चोरी शिकारी नियन्त्रणका लागि सुराकी परिचालन गर्छौँ । तस्करहरूलाई समात्ने काननी दायरामा ल्याउने गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘टुहुरा गैंडा भेटियो भने ल्याएर पाल्छौँ । गस्ती पेट्रोलिङ बढाइरहेका छौँ ।’
विगत २ वर्ष चोरी शिकार शून्य रहेको भए पनि यस आर्थिक वर्षको ९ महिनामा ४ वटा गैँडा चोरी शिकारमा परे । मानव वन्यजन्तुबीचको द्वन्द्व कम गराउँदै गैँडा संरक्षणमा जुटेको बताउनुहुन्छ फेरि विभागका निर्देशक आचार्य ।
गैँडा संरक्षणका लागि जनजागरणका कामहरू गरिरहेको प्रमुख संरक्षण अधिकृत बरालको भनाइ छ । ‘निकुञ्जको वरिपरी पर्खाल, तारबार लगाएका छौँ । जनावरलाई धपाउने खालका विभिन्न संरचना बनाएका छौँ ।’ बराल भन्नुहुन्छ, ‘निकुञ्जभित्र टावरहरू मचानहरू बनाएका छौँ । जनावरहरू आउनेबित्तिकै बज्ने साइरनसमेत जडान गरिएको छ ।’
१७ वटा गैँडा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसवर्ष एउटा गैँडा मरेको छ । गैँडालाई मानव बस्तीमा आउन नदिन बार लगाउनुका साथै निकुञ्जभित्रै प्रशस्त घाँसेमैदान बनाइएको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन बताउनुहुन्छ ।
‘सन् २०१५ मा ८ वटा गैँडा रहेको अहिले बढेर १७ वटा पुगेको छ । दक्षिणमा भारतसँग सीमाना छ र वरिपरी बस्ती भएका कारण गैँडा बाहिर गए भने समस्या हुन सक्छ ।’ उहाँ भन्नुहुन्छ, ‘निकुञ्जभित्रै प्रशस्त घाँसे मैदान भएका कारण गैँडा बाहिर आउन पाएका छैनन् । हामीले उनीहरूलाई आवश्यक सीमसारको व्यवस्थापन लगायतका काम गरेका छौँ ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ५ वडा गैंडा मरेका थिए । २०७२/०७३ मा १४, २०७३/०७४ मा २५, २०७४/०७५ मा २६, २०७५/०७६ मा ४३ र २०७६/०७७ मा २६ वटा गैँडा मरेका छन् ।
आर्थिक वर्ष २०७१/०७२ देखि २०७७ को अन्तिमसम्म एक सय ६९ वटा गैँडा मरेको विभागका निर्देशक हरिभद्र आचार्य बताउनुहुन्छ । ‘पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्दा औशतमा हरेक वर्ष २५ गैँडा मरेको देखिन्छ ।
अधिकाँश प्राकृतिक कारणले मरेका छन् ।’ आचार्य भन्नुहुन्छ, ‘२०७५/०७६ मा ४३ वटा गैँडा मरेको रेकर्ड छ । त्यसमध्ये २० वटा गैँडा सडेगलेको अवस्थामा भेटिएका थिए ।’
अहिले चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैंडा छन् । चोरीशिकारी पुनः सक्रिय हुनु गैँडा संरक्षणमा चुनौतीको विषय बनेको विज्ञहरु बताउँछन् ।
२०७४ मा आएको बाढीमा परेर मरेका २० गैँडाहरूको हाडखोर अर्को आर्थिक वर्षमा फेला परेका कारण अर्को वर्षमात्रै दर्ता भएको निर्देशक आचार्यको भनाइ छ ।
विगत २ वर्ष चोरी शिकार शून्य रहेको भए पनि यस आर्थिक वर्षको ९ महिनामा ४ वटा गैँडा चोरी शिकारमा परे । मानव वन्यजन्तुबीचको द्वन्द्व कम गराउँदै गैँडा संरक्षणमा जुटेको बताउनुहुन्छ फेरि विभागका निर्देशक आचार्य ।
‘चोरी शिकारी नियन्त्रण तथा जङ्गली जनावरका अङ्गहरूको गैरकानुनी व्यापार नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) सँग समन्वय गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो, ‘वरिपरीका बासिन्दालाई गैँडा संरक्षणको महत्व र फाइदाका कारेमा जानकारी गराइरहेका छौँ ।’
विभागले वन्यजन्तुले गर्ने क्षतिको एकिन विवरण सङ्कलन गर्ने र प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन पहल गरेका कारण पनि मानव वन्यजन्तु द्वन्द्व कम हुँदै गएको आचार्यको भनाइ छ ।
‘सामुदायिक वन उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, समूहलाई परिचालन गरेका कारण गैँडा संरक्षणमा स्थानीयको अपनत्व पनि बढ्दै गएको छ ।’
अहिले चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैंडा छन् । चोरीशिकारी पुनः सक्रिय हुनु गैँडा संरक्षणमा चुनौतीको विषय बनेको विज्ञहरु बताउँछन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८, ११:३४