काठमाडौँ । गाउँमा घर वरिपरि करेसाबारी हुन्छ तर सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउनै मुस्किल छ ।
पशुपालन र तरकारी खेतीको लागि गाउँ र ठूलो क्षेत्र चाहिन्छ भन्ने प्रायः धेरैको मान्यता भए पनि तरिका जानेमा घरको छत र कौसीमा नै तरकारी खेती र पशुपन्छी पालन गर्न सकिन्छ ।
काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ का रामजीप्रसाद ढकाल आफ्नै घरको कौसीलाई नै करेसाबारी बनाएर भान्साका लागि दैनिक चाहिने तरकारी उत्पादन गर्दै र अरुलाई सिकाउँदै आउनु भएको छ ।
ढकालको ढलान घरको कौसीमा सानो टनेल र प्लास्टिकका थैला (ग्रोब्याग) मा तरकारी लगाइएको छ । कौसीको एउटा कुनामा रहेको खोरमा बट्टाइ हुर्किरहेका छन् ।
बिहान उठ्नेबित्तिकै कौसीमा उक्लनुहुन्छ र तरकारी, फलफूल अनि बट्टाइको निरीक्षण गरेर आवश्यक काम गर्नुहुन्छ ।
‘१२ बोट टमाटर लगाउँदा ३/४ महिनालाई टमाटर किन्न परेन । १२ बोट काउली (ब्रोकाउली) लगाएँ ।’ उहाँ भन्नुहुन्छ, ‘बेमौसमामा गाजर उत्पादन गरे खाएँ, धनियाँ उत्पादन गरेर खाएँ । हरियो प्याज मैँले बाह्रै महिना खाएँ यहाँबाट । हरियो लसुन खाइरहेको छु ।’
मधुमेह अर्थात सुगरको समस्या भएका ढकाललाई कौसीमा लगाएको तरकारी र हुर्किइरहेका बट्टाईको स्याहार गर्दा मर्निङ वाक जानुपरेको छैन । कौसीमा फलेका तरकारी फलफूल खाएपछि अन्य रोगले पनि नछोएको उहाँको भनाइ छ ।
‘तरकारी फलफूलमा २/४ बाल्टी पानी उचालेर हालिदियो, गोलमेड गर्यो । शरीरलाई कसरत पनि भएको छ । विषादी भान्छामा ल्याउनु परेको पनि छैन ।’ उहाँ भन्नुहुन्छ, ‘तरकारी किन्न बजारमा जाने पैसा खर्च गर्नुपरेको छैन । आँखिरीमा खेर जाने ठाउँको सदुपयोग गरेर धेरै फाइदा लिन सकिने अनुभव भएको छ ।’
कृषि प्राविधिकसमेत रहनुभएका ढकाल अहिले ‘कृषि काका’को नामबाट चर्चित हुनुहुन्छ । उहाँ कौसीखेती गर्नुमात्रै हुँदैन, यसको तरिका पनि सिकाउनुहुन्छ । एक वर्षमा उहाँले विद्यालयसहित झण्डै ७० घरमा कौसीखेती प्रविधि सिकाइसक्नु भएको छ ।
२६ फिट लम्बाइ र १६ फिट चौडाइ क्षेत्रफल भएको आफ्नै घरको कौसीमा ढकालले हरिया सागपात, गोलभेँडा, गाजर, खुर्सानी, काउली, काँक्रो लगायतका तरकारी लगाउनु भएको छ ।
२५ हजार रुपैयाँको लागतमा सुरु भएको कौसी खेतीबाट एक वर्षमा कम्तिमा ३६ हजार रुपैयाँ बराबरको तरकारी किन्ने पैसा जोगिएको उहाँले सुनाउनुभयो ।
‘एक छाकलाई डेढ सय रुपैयाँको तरकारी लाग्छ । टमाटर, धनियाँ, काउली वा ब्रोकाउली मध्ये एउटा, प्याज, लसुन भयो हरियोसमेत ।
अफसिजनमा त सबैकुरा महङ्गो हुन्छ ।’ ढकाल भन्नुहुन्छ, ‘कौसीमा टनेलमा खेती गरेर अफसिजनमा समेत खान सक्ने भएकोले महिनाको कम्तिमा ३ हजार रुपैयाँ बचत गर्छ । मैले सँगसँगै बट्टाइ पनि पालेको हुँदा मल किन्न परेको छैन ।’
कौसी खेती राम्रो भएपछि गएको असोजबाट उहाँले बट्टाइ पनि पाल्न सुरु गर्नुभयो । सुरुमा उहाँसँग एक सय ५० वटा मात्रै बट्टाई थिए । तर अहिले ५ सय वटा अण्डा दिने उमेरका बट्टाई छन् । बट्टाइबाट दैनिक औसतमा ३ सय ८० वटा अण्डा उत्पादन भैरहेको छ ।
झण्डै एक लाख रुपैयाँको लगानीबाट सुरु भएको बट्टाई पालनबाट ६ महिनाको अवधिमा झण्डै ३ लाख रुपैयाँ आम्दानी भइसकेको छ ।
‘म अण्डा मात्रै बेच्ने भएकोले मसँग भाले केही मात्रै बाँकी छन् । मैले ४ सय ५० वटा भाले बेचिदिइसकेँ । खोरमा भएका ५ सय जति पोथीहरूले दैनिक ३ सय ८० देखि ३ सय ९० वटासम्म अण्डा दिन्छन् ।’ उहाँले भन्नुभयो, ‘बजार भाउ अहिले कम छ । एउटा अण्डाको ६ रुपैयाँका दरले बिक्री भइरहेको छ । खानेलाई पनि सस्तो भएको छ र हामी उत्पादन गर्नेलाई पनि धेरै ठूलो लगानी नभएकोले खासै घाटा छैन ।’
सहरी क्षेत्रका स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रममा पनि कौसी खेती प्रवद्र्धनको विषय समावेश गर्न थालेका छन् । सबै ढलान घरलाई पानी नछिर्ने अर्थात वाटरप्रुफिङ बनाएर कौसीमा तरकारी खेती गर्न सकिन्छ ।
कृषि प्राविधिकसमेत रहनुभएका ढकाल अहिले ‘कृषि काका’को नामबाट चर्चित हुनुहुन्छ । उहाँ कौसीखेती गर्नुमात्रै हुँदैन, यसको तरिका पनि सिकाउनुहुन्छ । एक वर्षमा उहाँले विद्यालयसहित झण्डै ७० घरमा कौसीखेती प्रविधि सिकाइसक्नु भएको छ ।
पैसाको बचत र भान्सामा विषादी कम गराउनका लागि पनि कौसी खेती गर्नु पर्ने उहाँको अनुभव छ । ‘बजारमा आएको तरकारीमा ८२ प्रतिशतसम्म रासायनिक विषादी भएको पाइएको छ । अहिले धेरै मान्छेहरुलाई मुटु, मस्तिष्क, घाँटीको क्यान्सर लगायतका समस्याहरू बढेको पाइएको छ ।’
ढकाल थप्नुहुन्छ, ‘यी रोगहरु कम गर्नको लागि र हरेक मान्छेको घरमा भान्छामा विषादी घटाउनु पर्छ भन्ने उद्देश्यले हामी अभियान एग्रो नामको कम्पनी बनाएर यो काम सुरु गरेका छौँ ।’
आफूले तरकारी र फलफूलको स्याहारमा बढी समय दिने र बट्टाइको स्याहार श्रीमती लक्ष्मीले गर्दै आउनुभएको ढकाल बताउनुहुन्छ ।
५ फुट चौडाइ र ६ फुट लम्बाई भएको मिनिटनेल (फलामको टेन्ट फ्रेम, सिल्पलिन, थोपा सिंचाइ सेट, कोकोपिट अर्थात नरिवलको जटाको धुलो, माटो र कम्पोष्ट मलको सोइल बेड तथा तरकारीका बीउ वा बेर्ना, हजारी लगायतको प्याकेज) निर्माणका लागि २५ हजार रुपैयाँसम्म खर्च हुन्छ । एक पटक निर्माण गरेको मिनिटनेल कम्तिमा ८ वर्षसम्म खप्ने उहाँको भनाइ छ ।
सहरी क्षेत्रका स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रममा पनि कौसी खेती प्रवद्र्धनको विषय समावेश गर्न थालेका छन् । सबै ढलान घरलाई पानी नछिर्ने अर्थात वाटरप्रुफिङ बनाएर कौसीमा तरकारी खेती गर्न सकिन्छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८, १०:४५