काठमाडौँ । नोबेल कोरोना भाइरसको महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा कडाइका साथ निषेधाज्ञा पालना गराउन गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
यातायातका साधन तथा नागरिकको आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । हिजो पहिलो दिन भएकाले यातायातका साधन बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गराउन निर्देशन दिइएको गृह प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।
मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी रहेका छन् ।
कालिकोट, बागलुङ र बर्दियामा आंशिक निषेधाज्ञाको आदेश जारी भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा निषेधाज्ञाको आदेश उल्लङ्घन गर्ने दुई हजारभन्दा बढीलाई हिजो होल्ड गरेर चेतावनीका साथ छोडेको थियो ।
ठाउँठाउँमा टोली परिचालन गरी सवारीसाधनको जाँचमा कडाइ गर्ने कार्य आज पनि कायम रहने हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो ।
अत्यावश्यक सेवाका साधन र व्यक्तिलाई भने नरोकिने
निषेधाज्ञा अवधिभर तोकिएका अत्यावश्यक सेवा र वस्तुका सवारीसाधन तथा व्यक्तिलाई आउजाउका लागि पास नचाहिने जनाएको छ ।
काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले यही वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् ।
यो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैँक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न अनुरोध गरिएको छ ।
वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सवारी पास जारी नहुने पनि सूचनामा भनिएको छ ।
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गरिएको बताउनुभयो ।
नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नम्बर ११८० मोबाइल नम्बर ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ ।
अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोजजस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८, ०९:२८